‘नक्कली सगरमाथा आरोही’ लाई पुरस्कार

पत्रपत्रिकाबाट

शुक्रबार, १२ भदौ २०७७, ०७ : ३८
‘नक्कली सगरमाथा आरोही’ लाई पुरस्कार

फाईल तस्वीर

काठमाडौं । भारत सरकारले पर्वतारोहणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेहरूका लागि दिँदै आएको प्रतिष्ठित तेन्जिङ नोर्गे नेसनल एड्भेन्चर अवार्ड विवादमा तानिएको छ । हिमाल आरोहण र साहसिक पर्यटन क्षेत्रमा निकै प्रतिष्ठित मानिएको यो पुरस्कार सगरमाथा चढेको दाबी गरेका नरेन्द्र सिंहलाई दिने भारत सरकारको घोषणा विवादास्पद बनेको हो । नरेन्द्रलाई पुरस्कार दिने भारत सरकारको निर्णयप्रति भारतीय आरोहीहरूले आश्चर्य प्रकट गरेका छन् । 

यस वर्ष सिंहसहित अन्य ६ जनाले यो पुरस्कार पाउँदै छन् । जसमा सगरमाथा आरोही अनिता कुन्डु पनि छिन् । उनी दक्षिणी र उत्तरी मोहडाबाट सगरमाथा चढ्ने पहिलो भारतीय महिला हुन् । उनीहरूलाई आगामी अगस्ट २९ मा राष्ट्रपति रामनाथ कोविन्दले पुरस्कार दिने कार्यक्रम रहेको छ ।

भारतको हरियाणा राज्यका नरेन्द्र तिनै व्यक्ति हुन्, जसमाथि २०१६ मे २० मा विश्वको उच्च शिखर सगरमाथा आरोहणको झूटो दाबी पेस गरेर प्रमाणपत्र लिएको आरोप लागेको छ । उनको आरोहणमाथि सुरुदेखि नै प्रश्न उठ्दै आएको छ । त्यही भएर आरोहण क्षेत्रमा सम्बद्धहरूले शंकाको निवारण नहुँदै यस क्षेत्रकै प्रतिष्ठित पुरस्कार दिइनु तेन्जिङ नोर्गे शेर्पाकै अपमान भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

नरेन्द्रलाई पुरस्कारको घोषणा हुनासाथ सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूले उक्त निर्णयप्रति व्यापक असन्तुष्टि व्यक्त गरेका छन् । नरेन्द्रको दाबीमाथि भारत र नेपाल सरकार दुवैले गम्भीरतापूर्वक छानबिन गर्न मागसमेत उठेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस