नर्थ क्यारोलाइना । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा धाँधली गर्न विपक्षीहरू लागिपरेको दाबी गरेका छन् । रिपब्लिकन दलले दोस्रो कार्यकालका निम्ति उनको उम्मेदवारी निश्चित गरेलगत्तै ट्रम्प मञ्चमा आएर एक घण्टा सम्बोधन गरेका थिए । यद्यपि, रिपब्लिकन दलको राष्ट्रिय सम्मेलनमा उनले सम्बोधन गर्दै पूर्वनिर्धारित कार्यक्रम भने थिएन ।
‘तिनीहरू (विपक्षीहरू) ले अमेरिकी जनतालाई छल गर्न कोभिडलाई प्रयोग गरिरहेका छन्,’ नर्थ क्यारोलिनामा आयोजित पार्टी सम्मेलनमा उनले ट्रम्पले भने । उनले हुलाकमार्फत गरिने मतदानलाई डेमोक्र्याटहरूले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप लगाएका हुन् । यद्यपि, राष्ट्रपति ट्रम्पले त्यसबारे कुनै प्रमाण भने सार्वजनिक गरेनन् । यसपालि कोरोना भाइरसको महामारीका कारण ठूलो संख्याका अमेरिकीले हुलाकमार्फत मतदान गर्ने ठानिएको छ । स्वतन्त्र विज्ञ तथा अधिकारीहरूले भने अमेरिकाको मतदानमा अनियमितता हुने दाबीलाई ठाडै नकारेका छन् ।
सन् २०१७ मा ब्रेनन सेन्टर फर जस्टिसले गरेको सर्वेक्षणमा अमेरिकी चुनावमा धाँधली हुने प्रतिशत ०।००००४ देखि ०।०००९ रहेको देखिएको थियो । संघीय निर्वाचन आयोगका आयुक्त एलेन वेनट्राबले भने, ‘सामान्यतः हुलाकमार्फत हुने चुनावी मतदानमा षड्यन्त्रको कुनै आधार छैन र हुँदैन ।’ ताजा मत सर्वेक्षणहरूमा डेमोक्र्याट उम्मेदवार जो बाइडेनभन्दा राष्ट्रपति ट्रम्प पछाडि देखिएका छन् । दुईबीचको दूरी थोरै तर उल्लेखनीय छ । पूर्वराष्ट्रपति बाराक ओबामा प्रशासनमा उपराष्ट्रपतिका रूपमा काम गरिसकेका बाइडेन ट्रम्पभन्दा दस प्वाइन्ट अघि रहेको दाबी गरिएको छ ।
रिपब्लिकन दलको भेला ट्रम्पका निम्ति यो स्थिति उल्ट्याउने उत्तम अवसर हुन सक्ने विश्लेषकको भनाइ छ । सम्मेलनका क्रममा बोल्दै ट्रम्पले आफूलाई जिताए अमेरिका अघि बढ्ने दाबीसमेत गरेका छन् । ‘उनीहरूले यो चुनाव जित्न सक्ने एकमात्र तरिका भनेको चुनावमा धाँधली भए मात्र हो,’ ट्रम्पले भने, ‘यो चुनाव हामीले जित्नैपर्छ ।’ राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने चुनाव अमेरिका र अमेरिकी जनताका लागि इतिहासकै सबभन्दा महत्त्वपूर्ण चुनाव भएको बताए । ‘यो सबभन्दा ठूलो चुनाव हो । हाम्रो देश अत्यन्त खराब दिशामा जान सक्छ वा अझै राम्रो उचाइमा पुग्न सक्छ । चीनबाट भाइरस आउनु अगाडि हामी राम्रो दिशामा गइरहेका थियौं ।’
कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै पछिल्लो समय ट्रम्प प्रशासन निकै आलोचित बनेको छ । यस्तो अवस्थामा चुनावी नतिजा विपक्षीको पोल्टामा जाने राजनीतिक विश्लेषकहरूको अनुमान छ । आधुनिक कालमा दोस्रो कार्यकाल जित्न अहिले ट्रम्पले सामना गरेजत्तिको चुनौती निकै कम अमेरिकी राष्ट्रपतिहरूले गर्नुपरेको बीबीसीले उल्लेख गरेको छ ।
ट्रम्पलाई रिपब्लिकन दलले सोमबार औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार बनाएको हो । नर्थ क्यारोलिनको चार्लोटमा आयोजित राष्ट्रिय सम्मेलनले उम्मेदवार चयन गरेसँगै त्यहाँ उपस्थित समर्थकहरूले ‘अरू चार वर्ष’ भन्दै खुसी मनाएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० भदौ २०७७, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै
पाकिस्तानको प्रशंसा गर्दै ट्रम्पले भने– 'म इस्लामावाद जान सक्छु'
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरे परिणाम राम्रो नहुने ट्रम्पको चेतावनी
ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन : इरानविरुद्धको सैन्य अभियान अन्तिम चरणमा पुगेको दाबी