चुनावमा धाँधली गर्न विपक्षीहरू लागिपरेका छन् : ट्रम्प

पत्रपत्रिकाबाट

बुधबार, १० भदौ २०७७, ०८ : २२
चुनावमा धाँधली गर्न विपक्षीहरू लागिपरेका छन् : ट्रम्प

नर्थ क्यारोलाइना । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा धाँधली गर्न विपक्षीहरू लागिपरेको दाबी गरेका छन् । रिपब्लिकन दलले दोस्रो कार्यकालका निम्ति उनको उम्मेदवारी निश्चित गरेलगत्तै ट्रम्प मञ्चमा आएर एक घण्टा सम्बोधन गरेका थिए । यद्यपि, रिपब्लिकन दलको राष्ट्रिय सम्मेलनमा उनले सम्बोधन गर्दै पूर्वनिर्धारित कार्यक्रम भने थिएन ।

‘तिनीहरू (विपक्षीहरू) ले अमेरिकी जनतालाई छल गर्न कोभिडलाई प्रयोग गरिरहेका छन्,’ नर्थ क्यारोलिनामा आयोजित पार्टी सम्मेलनमा उनले ट्रम्पले भने । उनले हुलाकमार्फत गरिने मतदानलाई डेमोक्र्याटहरूले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप लगाएका हुन् । यद्यपि, राष्ट्रपति ट्रम्पले त्यसबारे कुनै प्रमाण भने सार्वजनिक गरेनन् । यसपालि कोरोना भाइरसको महामारीका कारण ठूलो संख्याका अमेरिकीले हुलाकमार्फत मतदान गर्ने ठानिएको छ । स्वतन्त्र विज्ञ तथा अधिकारीहरूले भने अमेरिकाको मतदानमा अनियमितता हुने दाबीलाई ठाडै नकारेका छन् ।

सन् २०१७ मा ब्रेनन सेन्टर फर जस्टिसले गरेको सर्वेक्षणमा अमेरिकी चुनावमा धाँधली हुने प्रतिशत ०।००००४ देखि ०।०००९ रहेको देखिएको थियो । संघीय निर्वाचन आयोगका आयुक्त एलेन वेनट्राबले भने, ‘सामान्यतः हुलाकमार्फत हुने चुनावी मतदानमा षड्यन्त्रको कुनै आधार छैन र हुँदैन ।’ ताजा मत सर्वेक्षणहरूमा डेमोक्र्याट उम्मेदवार जो बाइडेनभन्दा राष्ट्रपति ट्रम्प पछाडि देखिएका छन् । दुईबीचको दूरी थोरै तर उल्लेखनीय छ । पूर्वराष्ट्रपति बाराक ओबामा प्रशासनमा उपराष्ट्रपतिका रूपमा काम गरिसकेका बाइडेन ट्रम्पभन्दा दस प्वाइन्ट अघि रहेको दाबी गरिएको छ ।

रिपब्लिकन दलको भेला ट्रम्पका निम्ति यो स्थिति उल्ट्याउने उत्तम अवसर हुन सक्ने विश्लेषकको भनाइ छ । सम्मेलनका क्रममा बोल्दै ट्रम्पले आफूलाई जिताए अमेरिका अघि बढ्ने दाबीसमेत गरेका छन् । ‘उनीहरूले यो चुनाव जित्न सक्ने एकमात्र तरिका भनेको चुनावमा धाँधली भए मात्र हो,’ ट्रम्पले भने, ‘यो चुनाव हामीले जित्नैपर्छ ।’ राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने चुनाव अमेरिका र अमेरिकी जनताका लागि इतिहासकै सबभन्दा महत्त्वपूर्ण चुनाव भएको बताए । ‘यो सबभन्दा ठूलो चुनाव हो । हाम्रो देश अत्यन्त खराब दिशामा जान सक्छ वा अझै राम्रो उचाइमा पुग्न सक्छ । चीनबाट भाइरस आउनु अगाडि हामी राम्रो दिशामा गइरहेका थियौं ।’

कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै पछिल्लो समय ट्रम्प प्रशासन निकै आलोचित बनेको छ । यस्तो अवस्थामा चुनावी नतिजा विपक्षीको पोल्टामा जाने राजनीतिक विश्लेषकहरूको अनुमान छ । आधुनिक कालमा दोस्रो कार्यकाल जित्न अहिले ट्रम्पले सामना गरेजत्तिको चुनौती निकै कम अमेरिकी राष्ट्रपतिहरूले गर्नुपरेको बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पलाई रिपब्लिकन दलले सोमबार औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार बनाएको हो । नर्थ क्यारोलिनको चार्लोटमा आयोजित राष्ट्रिय सम्मेलनले उम्मेदवार चयन गरेसँगै त्यहाँ उपस्थित समर्थकहरूले ‘अरू चार वर्ष’ भन्दै खुसी मनाएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस