उपत्यकामा निषेधाज्ञा थप्‍न तिनवटै जिल्ला प्रशासनको संयुक्त बैठक बस्दै

मंगलबार, ०९ भदौ २०७७, ०८ : ००
उपत्यकामा निषेधाज्ञा थप्‍न तिनवटै जिल्ला प्रशासनको संयुक्त बैठक बस्दै

काठमाडौँ । कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि थप गर्ने तयारी भएको छ । अहिलेसम्मको स्थितिबारे समीक्षालगायत निर्णय लिन उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक मंगलबार बस्दै छ ।

बैठकले १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउनेबारे निर्णय गर्नेछ । त्यसअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० र उपत्यकाभित्रका स्थानीय तहसँग पनि यसबारे संयुक्त रूपमा छलफल गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले बताए । सोमबार उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा स्थगनको निर्णय गरेको छ ।

फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन पनि सिफारिस गरेको छ । फोरमको सिफारिस मंगलबार प्रशासनसँगको संयुक्त बैठकमा पेस गरिनेछ । बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि बुधबार राति सकिँदै छ । सोमबार नै भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समिति र डीसीसीएमसी बैठकले निषेधाज्ञाको अवधि बढाउने निर्णय गरेका छन् । दुवै प्रशासनले आ–आफ्ना निर्णय मंगलबार बस्ने संयुक्त बैठकमा पेस गरिने बताएका छन् ।

संक्रमण रोकथाम तथा नियन्त्रणकै लागि थप निर्णय लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा तीन जिल्लाको संयुक्त सुरक्षा र डीसीसीएमसीको बैठक डाकिएको काठमाडौंका प्रजिअ दाहालले बताए । ‘मंगलबार तीनवटै जिल्लाको डीसीसीएमसी, सुरक्षा समिति र मेयरहरु सहभागी हुने गरी विभिन्न बैठक डाकेका छौं, संक्रमण रोकथाम तथा नियन्त्रण गर्न यसअघि जारी गरिएको निषेधाज्ञाबारे समीक्षा र आगामी निर्णयबारे विस्तृतमा छलफल हुन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस