मन्त्री दुलालद्वारा आइसोलेसनकक्षको अनुगमन, ५०० श्यया पु-याउन निर्देशन

रासस

शनिबार, ०६ भदौ २०७७, २१ : २७
मन्त्री दुलालद्वारा आइसोलेसनकक्षको अनुगमन, ५०० श्यया पु-याउन निर्देशन

फाइल तस्विर

काठमाडौं । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन कक्षको वाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले अनुगमन गर्नुभएको छ ।

सरकारले खरिपाटीमा बनाएको क्वारेन्टिनलाई ५०० श्ययाको आइसोलेसन कक्ष बनाउन निर्देशन दिएपछि भक्तपुर अस्पतालको नेतृत्वमा हाललाई २०० श्ययाको आइसोलेसन बनाएपछि आज मन्त्री दुलालले अनुगमन गर्नुभएको हो ।

सो अवसरमा उहाँलाई अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले आइसोलेसनको बारेमा जानकारी गराउनुभयो । त्यसैगरी मन्त्री दुलालले भक्तपुर अस्पतालमा निर्माण भएको सघन उपचारकक्ष (आइसीयू) र आइसोलेसन सेन्टरको अनुगमन गर्नुभयो ।

अनुगमनका क्रममा अस्पतालका अध्यक्ष सुवाल र मेसु डा गौतमले सरकारको निर्देशनानुसार भक्तपुर अस्पतालमा ३० श्यया आइसीयू र आइसोलेसन तथा खरिपाटीस्थित २०८ श्यया गरी २३८ श्यया तयार गरिएको जानकारी गराउनु्भयो । खरिपाटीस्थित आइसोलेसनमा आज १० र भक्तपुर अस्पतालमा चार बिरामी आइसोलेसनमा राखिएको उहाँले जानकारी दिनुभयो । 

मन्त्री दुलालले भक्तपुर अस्पतालले खरिपाटीको आइसोलेसनलाई २०० बाट बढाएर ५०० श्यया पु¥याउन निर्देशन दिनुभयो । उपचारबाट कोही पनि बञ्चित हुन नहुने भन्दै उहाँले भक्तपुर अस्पतालमा थप दुईवटा भेन्टिलेटर भोलि नै प्रदेश सरकारको तर्फबाट पठाइदिने बताउनुभयो ।

तत्कालका लागि आइसीयू सञ्चालनका लागि शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकसमेत टोलीले आइसीयू सञ्चालन भएको जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस