नेकपामा गठित कार्यदलले यस्तो बनाउँदैछ प्रस्ताव : (प्रारम्भिक मस्यौदा सहित)

कार्यदल आज बसेर मस्यौदालाई अन्तिम रुप दिने र दुई अध्यक्षलाई बुझाउने

सफल खबर संवाददाता

शुक्रबार, ०५ भदौ २०७७, १० : २५
नेकपामा गठित कार्यदलले यस्तो बनाउँदैछ प्रस्ताव :  (प्रारम्भिक मस्यौदा सहित)

काठमाडौं । पार्टी विवाद सल्टाउन सत्तारुढ दल नेकपाले एक साता अगाडी कार्यदल बनाएको थियो । महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन गरेको कार्यदलले आज सम्ममा आफनो रिपोर्ट तयार पारिसक्ने गरी छलफललाई अन्तिम रुप दिने काम गरिरहेको कार्यदलका एक सदस्यले बताएका छन् । 

कार्यदलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको राजीनामाको विषयमा रिपोर्टमा केही पनि नबोली मौन बस्दै साउन १३ देखि अवरुद्ध स्थायी समिति बैठकका एजेण्डा, १५२ केन्द्रीय सदस्यले माग गरेको केन्द्रीय समिति बैठक र पार्टीको आसन्न एकताको महाधिवशेनमा केन्द्रीत रहेर रिपोर्टको अन्तिम मस्यौदा तयार पारिसकेको ति नेताले सफलखबरलाई बताए । 

 २०७६ मंसिर ४ मा भएको सहमतिलाई पुर्नब्याख्या गर्दै कार्यकारी अध्यक्षको कामलाई प्रधानमन्त्रीले हस्तक्षेप नगर्ने खालको प्रारम्भिक प्रतिवेदन कार्यदलले तयार पारेको छ । यस अगाडी गत माघमा सम्पन्न पार्टी केन्द्रीय समितिले तय गरेको पार्टी महाधिवशेनकै वरीपरी रहेर महाधिवशेन गर्ने प्रस्ताव पनि कार्यदलले बनाएको छ । कार्यदलले आज एकपटक बसेर मस्यौदालाई अन्तिम रुप दिने र दुई अध्यक्षलाई बुझाइने ति नेताले बताए । नेकपाका १० असारबाट पार्टी स्थायी समिति बैठक बसेको थियो ।

स्थायी समितिमा सीमा समस्या र समाधान, कोभिड १९ रोकथाम र नियन्त्रण प्रयास, पार्टी कामको समिक्षा, सरकारको कामको समिक्षा, एमसिसि लगायतका एजेण्डा तय गरेको थियो । यस सम्बन्धमा छलफल भईरहेका बेला आफ्नै सरकारी निवास बालुवाटारमा राखेको स्थायी समिति बैठकमा उपस्थित नहुने तर त्यहीबाट उनले आफुलाई हटाउन भारतीय षडयन्त्र भएको र त्यसमा पार्टीका नेताहरु लागिपरेको बताएपछि बैठक एकाएक एजेण्डा बाहिर गएर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीको राजीनामा माग तिर केन्द्रीत भएको थियो । 

ओलीले राजीनामा नदिने अडान लिएपछि पार्टी झण्डै झण्डै विभाजनको मुखमा पुगेर पनि फेरि जोगिएको छ । दुई अध्यक्षले नै पार्टी एकता बचाएर लैजानुपर्ने रियलाइजेसन गरेपछि विवादहरु क्रमशः महाधिवशेन तिर लैजाने गरी कार्यदलबाट विवाद सल्टाउने ब्यवस्थित सुझाव लिने निर्णय भएको हो । सोही अनुसार कार्यदल बनेको हो । कार्यदलले स्थायी समिति लगायतका एजेण्डामा उपाध्यक्ष वामदेव गौतमले अगाडी सारेको ६ बुँदे प्रस्तावकै सेरोफेरोमा रहेर प्रस्तावलाई अन्तिम रुप दिन लागेको हो ।  
 
के छ त कार्यदलले तयार पारेको प्रस्तावमा ?
 
१) स्थायी समितिका एजेण्डाहरुका सन्र्दभमा 
 
 क) कोभिड १९ को नियन्त्रण, रोककथाम र उपचार सम्बन्धमा ।
–         सरकारको काम प्रभावकारी बनाउन अझ सम्पूर्ण रुपमा राज्यका स्रोत÷साधान र पार्टी पंक्ति लाई समेत प्रभावकारी रुपमा परिचालन गर्ने र नियन्त्रण गर्ने गरी अगाडी बढ्ने । 
 
ख) नेपालको सीमा समस्या र समाधान सम्बन्धमा ।
–         नेपाल र भारतका बीचमा देखा परेको सीमा समस्याका विषयमा दिपक्षिय रुपमा कुटनीतिक र राजनीतिक सम्वादबाट नै समाधानको अधिकतम प्रयास गर्ने । वार्ता र सम्वादमा जोड गर्ने । त्यसका लागि सरकारले आवश्यक जुनकुनै उपायको अवलम्वन गर्ने । 
 
ग) सरकारको कामको समग्र समीक्षा सम्बन्धमा ।
–         सरकारले प्रभावकारी रुपमा काम गर्ने । सरकारको स्थायित्वको ग्यारेन्टी गरिने । 
–         आवश्यक मात्रामा केन्द्र देखि प्रदेश सरकार सम्म पूर्नगठन गर्ने । 
–         सरकारले गर्ने महत्वपूर्ण राजनीतिक नियुक्ति लगायतका विषयमा मुख्यतः दुई अध्यक्षले सहमति गरी सचिवालयमा प्रस्ताव ल्याएर छलफल गरि पार्टी निर्णय गराउने र त्यसैलाई सरकारले कार्यान्वयनमा लैजाने । 
–         पार्टी मातहात सरकार चल्ने निति र विधिलाई स्थापित गराउने ।
–         यस अगाडी सरकारका तर्फबाट भएका विवादास्पद नियुक्तिहरु आपसी छलफल र सहमतिका आधारमा पूर्नविचार गर्न सकिने । 
–         निर्वाचन घोषणापत्रलाई टेकेर सरकारका कामलाई अगाडी बढाउनुपर्ने ।  
घ) पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।
–         पार्टी काम सम्पूर्ण रुपमा कार्यकारी अध्यक्षले सञ्चालनको जिम्मा लिने । 
–         दुई अध्यक्षका बीचमा आपसी सहमतिमा पार्टीका बैठकहरु राख्ने, निर्णय प्रक्रियामा दुवै अध्यक्षले हस्ताक्षर गर्ने । बाधा अवरोध कामय गर्न नपाइने । 
–         बाँकी एकताका कामहरु टुंगो १५ दिनभित्र लगाईसक्ने ।
–         सरकारका कामको प्रचारप्रसारमा पार्टी पंक्तिलाई केन्द्र देखि गाँउतहसम्मै परिचालन गर्ने । 
 
ड).एमसीसीका सम्बन्धमा ।
–         एमसिसिका विषयमा पार्टीभित्र समझदारी बनाउने । 
–         केन्द्रीय समितिले गठन गरेको कार्यदलले दिएको सुझावका आधारमा सम्भव हुने जति परिमार्जन गर्ने र त्यसै आधारमा संसदबाट अनुमोदन गराएर जाने विधि अवलम्वन गर्ने । 
 
च).विविध 
क) रूकुम घटना
–         रुकुम घटना जघन्य प्रकारको घटना भएकोले त्यस प्रकारका जातिय नरसंहारको भत्र्सना गर्ने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने
–         रुकुम घटनाका मृतक परिवारलाई राहातस्वप राज्यले क्षतिपूर्ति ब्यवस्था गर्ने
 
ख) नागरिकता विधेयक 
–         पार्टी सचिवालयले यस अगाडी नै निर्णय गरे अनुसार नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने ।
–         अरु राजनीतिक दल सहमतिमा नआएपनि बहुमतिय प्रक्रियाका आधारमा संसद चलेपछि निर्णय गरेर जाने । 
 
ग) संघीय संसदका सदस्यहरूको भत्ता ।
–         कोरोना कहर कायम रहदासम्म नेकपाका सांसदहरुले संसद बैठक बस्दाका बेलाको भत्ता नलिने । 
 
२)  केन्द्रीय समितिको बैठक सम्बन्धमा
–         १४ साउनमा पार्टीका १५२ जना केन्द्रीय समितिले बैठक बोलाउन माग गरेकोमा पार्टी नेतृत्वको गम्भिर ध्यानाकर्षण भएको । 
–         पार्टी विधान अनुसार बैठक वोलाउन पार्टी नेतृत्व तयार रहेको प्रतिबद्धता जनाउदै अहिले कोरोना कहरका कारण सामाजिक भौतिक दुरी कायम राख्नुपर्ने अवस्थाका कारण केही समय बस्न नसक्ने । तर सहज वातावरण बनेलगत्तै बैठक बोलाउने प्रतिबद्धता ब्यक्त गर्ने ।
–         केन्द्रीय समितिबाट महाधिवशेनको सम्पूर्ण कार्यतालिका बनाई महाधिवशेनमा होमिने । 
 
३) महाधिवशेनवारे ।
 
क) कार्यतालिका 
 
–         सदस्यता नविकरण, अभिलेखीकरण ः भदौं असोज सम्म ।
–         गाँउ, नगर अधिवेशन ः  मंसिर सम्म
–         जिल्ला अधिवशेन ः पुस माघ सम्म 
–         प्रदेश अधिवेशन ः फागुन सम्म
–         महाधिवशेन ः चैत सम्म (मिति सचिवालयको प्रस्तावमा स्थायी समिति हुदै केन्द्रीय समितिले तय गर्नै)
 
ख) वैचारिक राजनीतिक विषय ।
–         पार्टीले एकताका क्रममा महाधिवशेनसम्म स्थगित राख्ने भनी राखिएका जनताको बहुदलीय जनवाद (जवज), एक्काइशौं शताब्दीको जनवाद र माओवादबारे पार्टीले वैचारिक बहस नखोल्दा सम्म कसैले पनि गुटगत कार्यक्रम राखी बहस गर्न नपाइने । 
–         तत्काललाई जनताको जनवादको कार्यदिशालाई नै आत्मसाथ गरेर अगाडी बढ्नुपर्ने ।
–         महाधिवशेनबाट कार्यदिशा टुंगो लगाउदा समाजवाद पुग्ने लक्ष्यका साथ कार्यदिशा विकसित र समृद्ध बनाएर जाने । 
 
ग) संगठनात्मक प्रश्न :
–         एकताको महाधिवेशन भएकोले सकभर सहमतिय प्रणालीबाटै महाधविशेनको नेतृत्व चयन गर्ने । 

प्रतिक्रिया दिनुहोस