घरैमा बसेर तीज मनाउन उपराष्ट्रपतिको आग्रह

रासस

विहीबार, ०४ भदौ २०७७, २० : २१
घरैमा बसेर तीज मनाउन उपराष्ट्रपतिको आग्रह

फाइल तस्विर

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वव्यापी महामारी कोरोना भाइरस देशव्यापी फैलिएको अहिलेको प्रतिकूल अवस्थामा यसपालीको तीज घरैमा बसेर मनाउन सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको छ ।

नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तिज–२०७७ को अवसरमा आज शुभकामना दिँदै उहाँले सरकारको आग्रह र स्वास्थ्य सुरक्षालाई ध्यान दिएर तीज मनाउन पनि आपिल गर्नुभएको छ ।

कोेरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदममा पूर्ण साथ दिन अपिल गर्दै उपराष्ट्रपतिले कोरोनाको संक्रमणबाट जोगिन नागरिक आफै पनि सचेत र जिम्मेवार हुन आवश्यक रहेको बताउनुभएको छ ।

सबै नेपाली एकजुट भएर धैर्यतापूर्वक कोराना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्नुको विकल्प नभएको उल्लेख गर्दै उहाँले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि तीनैतहका सरकारले चालिरहेका कदम अझै प्रभावकारी बनाउन जोड दिनुभएको छ ।
 
        कोरोना सङ्क्रमणबीच थुप्रै सांस्कृतिक तथा धार्मिक चाडपर्व आएका र यसबाट परिस्थितिअनुसार चाडपर्व मनाउनुपर्दछ भन्ने पाठ पनि सिकेको उल्लेख गर्दै उपराष्ट्रपतिले कोरोना भाइरस विस्तारै नियन्त्रणमा आउने र आगामी वर्षमा तीजलगायतका धार्मिक तथा सांस्कृतिक चाडपर्वहरु पुनः उल्लासमय वातावरणमा मनाइने विश्वास व्यक्त गर्नुभएको छ ।
 
        हरितालिका तीजले नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्दै उहाँले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस