नन्दबहादुर पुनलाई माओवादीमा छैटौं वरीयता

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०८२, १३ : २०
नन्दबहादुर पुनलाई माओवादीमा छैटौं वरीयता

काठमाडौं । दुई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेर पार्टी राजनीतिमा फर्किएका नन्दबहादुर पुनलाई माओवादीले छैटौँ वरीयता दिएको छ । यसअघि नै उपाध्यक्ष बनाएर पार्टीको सक्रिय राजनीतिमा फर्काइएका पुनलाई माओवादीले पार्टीभित्र वरीयता पनि तोकेको हो ।

स्थायी कमिटीको बैठक चलिरहेको बेलामा माओवादीले पार्टीको वेबसाइट अपडेट गर्दै पुनलाई छैटौँ नम्बरमा राखेको छ । पुनअघिको वरीयतामा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठपछि उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसालपछि पुनको नाम छ। उपाध्यक्षद्वय महरा र सापकोटा सभामुखको जिम्मेवारी सम्हालेर फर्किएका हुन् ।

पुन अध्यक्ष प्रचण्डकै जोडबलमा सक्रिय राजनीतिमा आएका हुन् । जनयुद्धकालदेखि नै पार्टीभित्र आन्तरिक समीकरणमा पुन प्रचण्डसँग नजिक रहेर काम गर्दै आइरहेका छन् ।

पार्टीभित्र उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले दबाब बढाउनसक्ने चर्चापछि प्रचण्डले आफूनिकट पुनलाई पार्टीमा ल्याएका हुन् । अहिले पार्टीभित्र शर्मासँग प्रचण्डको अन्तरसंघर्ष चलिरहेको छ । जारी स्थायी कमिटीको बैठकमा प्रचण्डको समर्थन गर्दै उपमहासचिव शर्माको चर्का आलोचना गरेका थिए । पुन र हालै नेसपाबाट भित्रिएका गंगानारायण श्रेष्ठलाई समावेश गरेर स्थायी कमिटी ४६ सदस्यीय बनाइएको छ । सचिव श्रेष्ठको वरीयता २३ नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस