निर्मला पन्तलाई न्याय दिन माग गर्दै ‘डिजिटल आन्दोलन’

प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा रहेको प्रोफाइल पिक्चरमा १ लाख ९३ हजारभन्दा धेरै कमेन्ट

सफल खबर संवाददाता

आइतबार, ३२ साउन २०७७, १६ : २४
निर्मला पन्तलाई न्याय दिन माग गर्दै ‘डिजिटल आन्दोलन’

काठमाडौँ । बलात्कारपछि हत्या भएको दुई वर्षभन्दा लामो समय बितिसक्दा पनि अपराधी पत्ता लगाउन सरकार असफल भएपछि पुनः निर्मला पन्तलाई न्याय दिन माग गर्दै डिजिटल आन्दोलन सुरु भएको छ ।

निर्मला पन्तका हत्यारालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मला’ अभियान सुरु भएको हो ।

सामाजिक सञ्जालका प्रयोगकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीसहित ओली मन्त्रिपरिषद्का अन्य मन्त्रीहरु र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुकको तस्बिरमा निर्मलालाई न्याय दिन माग गर्दै कमेन्ट गर्ने अभियान नै चलाएका छन्।

शीर्ष नेताहरुको तस्बिरमा आक्रामक रुपमा कमेन्टहरु गर्न थालिएको छ। यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा रहेको उनको ‘प्रोफाइल पिक्चर’मा जम्मा १ लाख ९३ हजार भन्दा धेरैले कमेन्ट गरेका छन् । ती मध्ये अधिकांशले निर्मला पन्तको न्यायको माग गरेका छन्।

यस्तै पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाल प्रहरीको फेसबुक पेजमा लगायतका तस्बिरमा पनि कमेन्ट गरिएका छन्।

फेसबुक प्रयोगकर्ताले गृहमन्त्री रामबहादुर थापा बादलको प्रोफाइल पिक्चरमा पनि निर्मलालाई न्याय दिन माग गर्दै कमेन्ट वर्षाएका छन्।

उनीहरुले निर्मला पन्तको तस्बिर अंकित पोस्टरमा सरकार भेटियो, न्याय भेटिएन उल्लेख गरेका छन्। न्यायमा हुने ढिलाई, न्याय अस्वीकार गर्नु सरह हुने कुरामा पनि सरकारलाई खबरदारी गरिएको छ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । उक्त घटनाका दोषी हालसम्म पत्ता लाग्न सकेका छैनन् । अहिले नेपालमा जस्टिस फर निर्मला पन्त ह्यास ट्याग अभियान चलिरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस