एकान्तवास : महामारीको सम्झना जीवन्त राख्ने प्रयास

सूर्यप्रकाश कँडेल

शनिबार, ३१ साउन २०७७, ११ : १३
एकान्तवास : महामारीको सम्झना जीवन्त राख्ने प्रयास

विश्व कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट गुज्रिरहेको छ । विश्वका सबैजसो देशले कोरोना कहरको सामना गरिरहेका छन् । गएको वर्ष मध्यमाघमा चीनको वुहान सहरमा पहिलोपटक देखा परेको कोरोना भाइरस अहिले विश्वव्यापी बनेको छ । नेपालमा कोरोना कहर उत्कर्षतिर लम्किरहेको छ ।

चाहेर पनि नचाहेर पनि मानिसहरु कोरोनालाई सम्झन बाध्य छन् । कोरोना कहर सहन बाध्य छन् । उत्तरी छिमेकी राष्ट्र चीनबाट सुरु भएको कोरोना यात्रा दक्षिणी छिमेकी राष्ट्र भारतमा उत्कर्षमा पुगेको छ । कोरोनाबाट चीन शान्तजस्तो देखिएपनि भारतमा भने दैनिक ६५ हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् । बीचमा रहेको नेपालमा दैनिक थपिएका संक्रमितको संख्या चौथो अंकसम्म पुगेको छैन । कोरोनाबाट दैनिक मर्नेहरुको संख्या पहिलो अंकमै सीमित छ ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले चैत ११ गतेदेखि देशव्यापी बन्दाबन्दी लागु ग¥यो । कोरोनाको त्रासले मानिसहरु घरभित्र सीमित भए । कामकाज छुटे । घरमा बस्दा कोही सिर्जनात्मक काममा लागे भने कसैले जसोतसो समय व्यतीत गरे । अहिले बन्दाबन्दी खुलिसकेको भएपनि निषेधाज्ञा लगाइएको छ । अवस्था असहज बन्दै गइरहेको छ ।

बन्दाबन्दीको असहज अवस्थामा चितवनका पत्रकार विनोदबाबु रिजालले दैनिकी लेख्न थाले । एकान्तवास पुस्तक त्यही दैनिकी हो, जसमा रिजालका अनुभूति निबन्धात्मक शैलीमा पोखिएका छन् । बन्दाबन्दीको बेला पाएका दुःख र कोरोना भाइरसबारेका तथ्यांक एवं अन्तर्राष्ट्रिय चर्चासमेत पुस्तकमा समेटिएको छ ।

कोरोना महामारीको कारण गरिएको विश्वव्यापी बन्दाबन्दीका बेला लेखकले भोगेका, देखेका र सुनेका विविध सन्दर्भ समेटिएका छन् एकान्तवासमा । नेपालमा २०७६ साल चैत ११ देखि २०७७ साल जेठ ३२ गतेसम्म गरिएको बन्दाबन्दीका सन्दर्भ समेटिएका छन् । हरेक दिनका घटना र गतिविधिलाई लेखकले निबन्धात्मक रूप दिएका छन् । पुस्तकका अन्तिम केही पृष्ठमा कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीसमेत राखिएको छ ।

२०६१ सालबाट पत्रकारिता थालेका रिजाल चितवनबाट प्रकाशित हुने कायाकैरन दैनिकका सम्पादक हुन् । उनले हाल भोगिएको काला दिन भावी पुस्ताले पढ्न पाउनु पर्छ भन्ने लागेर पुस्तक लेखेको बताए । पत्रकार रिजालले लेखेको दैनिकीका अंश पढेपछि बन्दाबन्दीको दस्तावेजका रुपमा पुस्तक प्रकाशन गरिएको प्रकाशक युरेका पब्लिकेसनका लेखराम सापकोटाले बताए । तीन सय पृष्ठको यस पुस्तकको मूल्य ३ सय ७५ रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस