कोरोना हटस्पट : वीरगन्जमा अभावै अभाव

पत्रपत्रिकाबाट

शुक्रबार, ३० साउन २०७७, ०८ : १८
कोरोना हटस्पट : वीरगन्जमा अभावै अभाव

फाइल तस्विर

वीरगन्ज । कोरोना ‘हटस्पट’ बनेको वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट र रिएजेन्ट अभावले दुई दिनसम्म स्वाब परीक्षण प्रभावित बन्यो । प्रयोगशालाले बुधबारदेखि अर्को व्यवस्था नभएसम्म कुनै पनि नमुना परीक्षण गर्न नसकिने भन्दै सूचना नै टाँस्यो ।

साउन २६ र २७ गते आइपुगेका विभिन्न जिल्लाका नमुनासमेत परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको सूचनामा उल्लेख छ । ५ दिनअगाडिदेखि नै पीसीआर किट माग गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

पीसीआर किटको अभावमा अस्पतालले मंगलबार ११ सयभन्दा बढी स्वाबको नमुना काठमाडौं पठाएको थियो । ‘सरोकारवाला निकायलाई अग्रिम जानकारी गराउँदा पनि समयमै पीसीआर किट आइपुगेन,’ एक चिकित्सक भन्छन्, ‘यसले देखाउँछ, महामारीको बेला राज्यसंयन्त्रको काम कस्तो छ रु’ बारा र रौतहटमा संकलन गरिएका स्वाब पनि यहाँको प्रयोगशालामा परीक्षण हुँदै आएको छ । तर यहाँ रिएजेन्ट, पीसीआर किट अभाव छ ।

बुधबार राति ११ बजे मात्रै काठमाडौंबाट पीसीआर किट आइपुगेको नारायणी प्रयोगशाला प्रमुख डा। निरा पाठकले जानकारी दिइन् । ‘नयाँ रि–एजेन्ट आउँदा त्यसलाई भ्यालिडेसन गर्नुपर्ने हुन्छ । केही पोजिटिभ र केही निगेटिभ स्याम्पल लिएर भ्यालिडेसन गर्‍यौं,’ उनले भनिन्, ‘स्याम्पलहरू रि–रन भइसक्यो ।’ रि–एजेन्ट नहुँदा दुई दिन काम प्रभावित भयो । प्रयोगशालामा दैनिक करिब ५ सय स्याम्पल टेस्ट हुने गरेको उनले बताइन् ।

प्रदेश २ मै पीसीआर किट अभाव रहेको छ । प्रदेश आपूर्ति निर्देशानलय प्रमुख डा. प्रमोद यादवका अनुसार पीसीआर किट केन्द्र सरकारबाटै आउने गरेको छ । ‘अभाव हुन थालेपछि प्रदेश सरकार आफैंले ५० हजार पीसीआर किट खरिद गर्ने योजना अगाडि बढाएको छ,’ डा. यादवले भने, ‘सप्तरी र जनकपुरको प्रयोगशालमा एउटा एउटा पीसीआर मेसिन थप्ने र रौतहटमा पीसीआर मेसिन स्थापना गरिनेछ ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस