वैज्ञानिकले भन्यो : सूर्यबाट ठुलो सौर्यज्वाला निस्कदैं, पृथ्वीमा समेत ठुलो हलचलको खतरा

एजेन्सी

विहीबार, २९ साउन २०७७, ०९ : ०४
वैज्ञानिकले भन्यो : सूर्यबाट ठुलो सौर्यज्वाला निस्कदैं, पृथ्वीमा समेत ठुलो हलचलको खतरा

काठमाडौं ।  वैज्ञानिकहरुका अनुसार हरेक ११ वर्षको अन्तरालमा सूर्यको सतहमा ठूलो परिवर्तन हुने गर्छ । ११ वर्ष देखि शान्त रहेको सूर्यमा अहिले ठुलो हलचल आएको छ । वैज्ञानिकहरुले अहिले सूर्यमा ठूलो धब्बा (सनस्पट) देखा परेको बताएका छन् । त्यो धब्बाले पृथ्वीमा समेत ठुलो हलचल ल्याउन सक्ने खतरा औंल्याउन थालेका छन् । 

उक्त विशाल धब्बा हाम्रो पृथ्वीतर्फ घुमेको देखिएको छ । सोही कारण यसबाट निस्कने सौर्यज्वाला पृथ्वीलाई हानिकारक हुनसक्ने अनुमान वैज्ञानिकको छ । त्यो सूर्यको धब्बा आँउदो दिनमा यसको आकार अझै ठूलो हुन सक्दछ । स्पेस वेदर डटकमको रिपोर्ट अनुसार उक्त सनस्पटबाट स–साना ज्वालाहरु पहिलेदेखि नै निस्किरहेका छन् । अहिले सूर्यमा देखिएको धब्बा यति ठुलो छ कि त्यो सौर्य धब्बाबाट निस्कने ज्वालो पृथ्वीलाई समेत नोक्सान पुराउन सक्दछ ।

वैज्ञानिकहरुका अनुसार सौर्यज्वालाका कारण पृथ्वीको भूउपग्रह जडित सञ्चार व्यवस्थामा बाधा उत्पन्न हुने खतरा छ । अर्थात् स्याटेलाइट कम्युनिकेसनमा असर पर्न सक्दछ । साथै यसले हवाई तथा समुद्री यातायातमा असर पर्नसक्ने वैज्ञानिकहरुको अनुमान छ ।

पृथ्वीतर्फ घुम्दा नै ती धब्बाको उर्जाले पृथ्वीको वायुमण्डलमा आयनीकरणको लहर पैदा गरेको भए तापनि अहिलेसम्म कुनै ठूलो घटना भने भएको छैन । सनस्पटमा व्यापक चुम्बकीय शक्ति हुने हुनाले विशाल ऊर्जा पैदा हुन्छ र उक्त ऊर्जा सौर्य ज्वालाको रुपमा देखिन्छ । सूर्यको सबैभन्दा विशाल धब्बाको व्यास ५० हजार किलोमिटरसम्म हुने गरेको छ । त्यसभित्र बाट सूर्यको तातो प्लाज्मा बाहिर निस्कन्छ र त्यसको विस्फोटबाट सौर्यज्वाला पैदा हुन्छ ।

अमेरिकाको फ्लोरिडामा बस्ने खगोलविद मार्टिन वाइजले उक्त सौर्य धब्बाको तस्वीर खिच्न सफल भएका छन् । उक्त धब्बा मंगल ग्रहको आकार बराबर छ । उक्त धब्बाभित्र पनि अन्य कैयन् धब्बाहरु छन्, जो चन्द्रमाको सतहमा रहेका खाडलहरु जस्तै देखिन्छन् ।

वैज्ञानिकहरुका अनुसार सौर्य तुफानले अन्तरीक्षमा बहने विद्युत चुम्बकीय धारामा परिवर्तन ल्याइदिन सक्दछ । यसले पृथ्वीको चारैतर्फ विद्युत चुम्बकीय फिल्डमा इलेक्ट्रोन तथा प्रोटोनमा घटबढ गराउन सक्दछ । यसले विश्वको सञ्चार प्रणालीमा असर पर्न सक्दछ । सूर्यमा देखिएको धब्बाबाट निस्किएको उर्जाले पृथ्वीमा समेत ठुलो असर पार्न सक्ने भएकाले कोरोना कहरमा अर्को विपत्ती पनि निम्तिने हो कि भन्ने चिन्ता अहिले विश्वव्यापी रुपमा व्यक्त हुन थालेको छ । 

प्रतिक्रिया दिनुहोस