काठमाडौं । प्रधानमन्त्रीलाई शारीरिक र मानसिक दृष्टिले अत्यन्त कमजोर रहेको भनी जनता समाजवादी पार्टीले गरेको टिप्पणीमा प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ । प्रधानमन्त्रीबारे गरिएको त्यस्तो टिप्पणी अशिष्ट र पूर्वाग्रही रहेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खेद जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलवार एक प्रेस नोट जारी गर्दै जनता समाजवादीको टिप्पणीलाई कुण्ठाग्रस्त गालीगलौज र दिवालियापन भएको भन्दै निन्दा गरेका छन् । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि साउन २५ गते जारी विज्ञप्तीमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको उल्लेख थियो ।
थापाले प्रेस नोट जारी गर्दै लेखेका छन्, ‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलौज मात्र हो र सोचको दिवालियापन नै हो ।’
जसपा एकता पूर्वका तत्कालिन पार्टी विभाजन गर्न सरकारले गत वैशाख ८ मा दल विभाजन सम्बन्धि अध्यादेश ल्याएको र पार्टी विभाजन गर्न आफु निकट नेता महेश बस्नेत, किसान श्रेष्ठ र प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल लगायत प्रयोग भएपछि जनता समाजवादी प्रधानमन्त्रीसँग असन्तुष्ट छ । केन्द्रीय कार्यकारीणी समिति बैठकमा प्रधानमन्त्री ओलीको कार्यशैली र सरकारको कामको समिक्षा गर्दै जसपाले प्रधानमन्त्रीमाथी त्यस्तो टिप्पणी गरेको वक्तब्य जारी गरेको थियो ।
त्यसपछि प्रधानमन्त्रीको सचिवालयलाई जसपाको त्यसखालको टिप्पणी प्रति असैह्य भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले त्यसपछि नै मंगलबार प्रेस नोट जारी गर्दै वक्तब्यमा उल्लेखित भाषाप्रति आपत्ति जनाएको हो ।
थापाको विज्ञप्तीमा भनिएको छ, ‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला ।’
थापाले निहीत स्वार्थ पूरा गर्न ओलीलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको र यो कुनै नौलो कुरा नभएको पनि बताएका छन् । ‘त्यस्ता तत्वहरू इतिहासको गतिमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ । शीशाको घरमा बसेर ढुंगा हान्नेहरू आफैं असुरक्षित र पतन हुनु अनिवार्य छ ।’ थापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ साउन २०७७, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत
जसपा सङ्घीय परिषद्को बैठक सुरु
आजबाट जसपाको संघीय परिषद् बैठक
जसपा नेतृ सिंहले फायर गरेको पेस्तोल सर्लाहीबाट बरामद
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन: जसपा