माडीमा सशस्त्र प्रहरी बलको भवन उद्घाटन

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०७७, १६ : ३७
माडीमा सशस्त्र प्रहरी बलको भवन उद्घाटन

माडी । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छरछरे, चितवन माडीको नवनिर्मित भवनको आज शुक्रबार उद्घाटन भएको छ ।

नवनिर्मित भवनको उद्घाटन गर्दै माडी नगरपालिका मेयर ठाकुरप्रसाद ढकालले सशस्त्र प्रहरी बलको भवन उद्घाटन गर्न पाउँदा खुशी व्यक्त गर्दै सुरक्षाको क्षेत्रमा थप योगदान मिलेको भन्दै भवन निर्माणमा सहयोग गर्ने सहयोगी महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नुभयो ।

माडीको चेपाङ बस्ती व्यवस्थापन र माडीको समग्र विकास गर्नमा सञ्चारकर्मीहरुको विशिष्ट योगदान गरेका बताउँनुभयो । उहाँले चेपाङ बस्ती व्यवस्थापन गर्ने विषयमा केही सञ्चारमाध्यममा आएका विषयले आफुलाई दुखित बनाएको र यथार्थ र वास्तविकता बुझेर समाचार सम्प्रेषण गर्ने आग्रह गर्दै सञ्चारकर्मी र सञ्चार माध्यमहरुप्रति  सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

माडी नगरपालिका स्थानीय संघ संस्था र समाजसेवीहरुको गरी करिव १९ लाखमा  सम्पन्न भएको भवन उद्घाटन कार्यक्रममा भवन निर्माणको लागि सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।

भवन निर्माण समितिका अध्यक्ष रेशमलाल आचार्यको अध्यक्षतामा सम्पन्न भवन उद्घाटन कार्यक्रममा  माडी उप प्रमुख ताराकाजी महतो, नेकपा माडी नगर कमिटी अध्यक्ष प्रभुप्रसाद महतो, नेपाली काँग्रेस चितवनका जिल्ला सदस्य शोभाकर चापागाईं, पशसस्त्र प्रहरी बल १७ नम्बर गणपति दिपककुमार थापा, अयोध्या सम्बन्धि खोज अनुसन्धान समितिका संयोजक नारदमणि पौडेल, माडी नगरपालिकाका प्रशासकीय अधिकृत भीमबहादुर कुँवर राजनीतिक दलका प्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, माडी नगरपालिका वडाध्यक्षहरु लगायत स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा भवन निर्माण समितिका उपाध्यक्ष श्रीप्रसाद दवाडीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने नायव निरीक्षक नारायण प्रसाद ईटनीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस