वीरगन्जमा कोरोना सन्त्रास : भयग्रस्त मानिस, चकमन्‍न सहर

पत्रपत्रिकाबाट

मंगलबार, २० साउन २०७७, ०८ : २३
वीरगन्जमा कोरोना सन्त्रास : भयग्रस्त मानिस, चकमन्‍न सहर

वीरगन्ज । मुलुकको मध्यभागमा पर्ने भएकाले औषधि, किराना सामान, खाद्यान्न र औद्योगिक उत्पादन देशैभरि ढुवानी गर्ने मुख्य सहर हो, वीरगन्ज । सूर्य नउदाउँदै राति अबेरसम्म सवारीसाधनको चर्को हर्न सुनिने सहरको बीचभागमा रहेको त्रिभुवन राजमार्ग अहिले चकमन्न छ ।

राजमार्गको वीरगन्ज भन्सारदेखि गण्डक चोकसम्मको सडक खण्डमा अहिले सवारीको कर्कस हर्न सुनिँदैन, न त आदर्शनगरमा रहेको ट्रान्सपोर्ट एरियामा कामदारले ट्रकमा वस्तु नै लोड गरेको देखिन्छ । आयातनिर्यातका लागि भन्सार कार्यालय खुलै रहे पनि सहरचाहिँ ठप्प छ । सामान्य अवस्थामा बिहानदेखि रातिसम्म भीडभाडले अस्तव्यस्त रहने दुवै भन्सार कार्यालय अहिले दर्शकबिनाको फुटबल प्रतियोगिताझैं देखिन्छन् ।

व्यापारिक चरित्र भएको सहर साउन १० देखि फेरि अनिश्चितकालीन निषेधाज्ञामा छ । वैशाख–जेठको तुलनामा निषेधाज्ञा उल्लंघन गर्ने सहरवासीसमेत घटेका छन् । लक्षणसहितका कोरोना भाइरस संक्रमित बढ्ने क्रम तीव्र भएपछि वीरगन्जमा एक किसिमको सन्नाटा छाएको छ । कोरोना रोकथामका लागि सरकारले चैत ११ देखि देशभर लकडाउन घोषणा गरेपछि वीरगन्जमा चैत ३० मा चार भारतीय मुस्लिम जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वैशाख अन्तिम साता छपकैयाका एकै परिवारका १७ जनामा कोरोना पुष्टि हुँदा वीरगन्ज भयभीत बनेको थियो । त्यसबेलाको संक्रमणको ‘चेनब्रेक’ गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र नागरिक सफल भएका थिए । जेठको मध्यपछि भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरूमा मात्र कोरोना संक्रमण देखिन थाल्यो । सहरमा चाहिँ ‘कन्ट्याक्ट ट्रेसिङ’ बाहेकको परीक्षण बन्द थियो । असार अन्त्यमा वीरगन्जको कोरोना अस्पतालमा पर्साका दुई जना संक्रमित मात्रै थिए । त्यही बेला सरकारले पैसा तिरेर पीसीआर परीक्षण गर्न सकिने घोषणा गरेसँगै वीरगन्जमा संक्रमितको संख्या ह्वात्तै बढ्न थाल्यो ।

साउनयता पर्सामा ४ सय २७ नयाँ संक्रमित थपिएका छन् । अधिकांश वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन् । पहिलो चरण ९वैशाखरजेठरअसार० मा संक्रमण पुष्टि भएकाहरूमा कोरोनाको कुनै लक्षण देखिएको थिएन, मृत्युदर पनि कम थियो । बिस्तारै वीरगन्जवासीको मनबाट कोरोनाको डर हराइसकेको थियो । सरकारले होटल, रेस्टुरेन्ट खोल्न अनुमति नदिए पनि असार मध्यदेखि नै यहाँको माईस्थान, आदर्शनगर, श्रीपुर, मुर्ली चोकका साँझका नास्ता पसलमा भीडभाड बढिसकेको थियो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस