नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु, आजसम्म मृत्यु हुनेको संख्या ५६ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, १६ साउन २०७७, १७ : ४४

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।   

उनका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षीय पुरुषको साउन १५ गते मृत्यु भएको हो । मुटुको रोगी ती पुरुषको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । साउन ६ गते कोरोना पुष्टि भएपछि उनलाई ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरिएको थियो ।

यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ का ३५ वर्षका पुरुषको साउन १५ गते नै गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साउन ५ गते नीजि क्लिनिक हुँदै तराई अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि गण्डक अस्पताल भर्ना भएका थिए । १३ गते अस्पताल भर्ना उनको नमुना संकलन गर्दा १५ गते नै कोरोना पुष्टि भएको थियो । 

यस्तै वीरगञ्ज–२ का ६५ वर्षीय अर्का पुरुषको पनि साउन १५ कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा। गौतमले बताए । उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै वीरगञ्ज ११ स्थायी घर भइ ललितपुरको थसिखेल ५ बस्ने महिलाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको प्रवक्ता डा।गौतमले बताए । मधुमेहका विरामी ती महिला साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि स्टार अस्पतालमा भर्ना भएकी थिइन् । साउन ६ गते कोरोना पुष्टि भएपछि उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो । 

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।