नेपालमा हालसम्म ५२ जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०७७, १७ : ११

काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।  मोरङमा १ र पर्सामा २ जनाको मृत्यु भएको उनले बताए ।

मृत्यु हुनेमा मोरङको सुनवसी-८ का ४५ वर्षीय पुरुष रहेका छन् । निरन्तर भारत आवजावत गरिरहने ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । अस्पतालको भेन्टिलेटरमा उपचारकै क्रममा उनको निधन भएको हो । 

यस्तै पर्साको वीरगञ्ज-७ का ७० वर्षीय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । मुटु र मधुमेह रोगका विरामी उनी एक निजी अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए । 

पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ । साउन ७ गते कोरोना पुष्टि भएका ती पुरुष मृगौला सम्बन्धी समस्याबाट पीडित थिए । झाडापाखालाको उपचारका लागि विभिन्न निजी अस्पतालमा गएपनि निको नभएपछि नारायणी अस्पताल भर्ना भएका थिए । त्यहाँ आइसीयूमा राखेर उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको प्रवक्ता डा. गौतमले बताए ।