चीनको तिब्बत प्रान्तमा रहेको शहर सिगात्सेले दियो भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामग्री

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०७७, १६ : ०९
चीनको तिब्बत प्रान्तमा रहेको शहर सिगात्सेले दियो भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामग्री

चितवन । मित्रराष्ट्र चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । 

बिहीबार भरतपुर महानगरपालिकामा उक्त स्वास्थ्य सामग्री ग्रहण गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्राप्त स्वास्थ्य सामग्रीले कोभिड–१९ सँग लड्न थप हौसला प्रदान गरेको बताइन् ।

तिब्बत प्रान्तमा रहेको सिगात्से सिटीले बुधबार रसुवास्थित टिमुरे नाकामा एन ९५ माक्स एक हजार थान, सर्जिकल मास्क ५० हजार थान, आरडिटी किट आठ सय थान, पिपिई एक सय थान, मेडीकल फेस सिल्ड एक हजार थान र सर्जिकल ग्लोभ्स चार हजार थान लगायतका स्वास्थ सामग्री भरतपुर महानगरपालिकालाई कोभिड–१९ बिरुद्ध लड्न सहयोग गरेको हो ।

मित्र राष्ट्र चिनको सिगात्से सिटीले कोभिड–१९ को महामारीसँग लड्न यति धेरै स्वास्थ्य सामग्री भरतपुर महानगरपालिकालाई प्रदान गरेर अतुलनिय सहयोग गरेको बताउँदै महानगर प्रमुख दाहालले प्राप्त स्वास्थ्य सामग्रीको अधिकतम उपयोग गरी कोभिड–१९ विरुद्ध लड्ने बताइन् ।

प्रमुख दाहालले मित्र राष्ट्र चिनका विभिन्न शहरहरुले भरतपुर महानगरपालिकालाई विभिन्न खाले सहयोग गरिरहेको बताउँदै यस महामारिको अवश्थामा २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरी कोभिड–१९ विरुद्ध लड्न हौसला प्रदान गरिएकोमा सिगात्से सिटीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि दुईपक्षीय सहयोग आदान प्रदान भईरहने विश्वास व्यक्त गरिन् ।

बुधबार रसुवाको टिमुरे भन्सार नाकाबाट सिगात्से सिटीका प्रतिनिधीहरु तथा नेपाल प्रवासी चीनीया संघका सदस्यहरु ज्याङ्ग जिङ्ग च्याङ्ग, वाङ ज्यूजाङ, हुई घिङ, डाङ्ग लगायतका प्रतिनिधीहरुले भरतपुर महानगरपालिकाका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपाने नेतृत्वको टोलीलाई सामग्री प्रदान गरेको थियो । भरतपुर महानगरपालिका र चिनको गुर्मुसिटी, सिटीसँग भगिनी सम्बन्ध कायम रहेको छ भने घाङ् सिटी र सिगारसंग भगिनी सम्बन्ध कायमको प्रकृयामा रहेको छ । 

भरतपुर महानगरपालिका र चीनका शहरहरुसँग प्रविधी हस्तान्तरणका साथै दुई पक्षिय सहयोगका साथ अवलोकन भ्रमण हुँदै आएको छ । कोभिड–१९ कै क्रममा चिनको गुर्मु सिटीले पनि ठूलो मात्रमा भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।

यस्तै, बिहीबार युएनडीपीको प्रतिनिधी मण्डलले कोभिड–१९ सँग लड्न र क्वारेन्टिन व्यवस्थापनका लागि चाहिने स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । युएनडीपीका प्रतिनिधीहरुले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालाई स्वास्थ्य सामग्री प्रदान गर्दै विगतदेखि नै भरतपुर महानगरपालिकामा विविध सहयोग निरन्तर रहेको भन्दै उपलब्ध सामग्रीहरुले कोभिड–१९ विरुद्ध लड्न र क्वारेन्टीन व्यवस्थापनमा सानो भएपनि सहयोग हुने विश्वास लिएका थिए ।

सामग्री ग्रहण गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्राप्त सामग्रीहरु अत्यावश्यकताका आधारमा कोभिड–१९ को महामारीसँग लड्न प्रयोग गर्ने बताइन् ।  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले युएनडीपीका प्रतिनिधीहरुलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस