सुकुम्बासीको घरमा आगो लगाउने र चेपाङ युवालाई कुटीकुटी मार्नेलाई कारबाहीको माग

सूर्यप्रकाश कँडेल

सोमबार, १२ साउन २०७७, १७ : ३०
सुकुम्बासीको घरमा आगो लगाउने र चेपाङ युवालाई कुटीकुटी मार्नेलाई कारबाहीको माग

photo : Surya Prakash Kandel

चितवन । सुकुम्बासीका घर भत्काउने र चेपाङ युवालाई कुटीकुटी मार्ने काममा संलग्न दोषीमाथि कारबाही गर्न नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) चितवनले माग गरेको छ । सोमबार भरतपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी क्रान्तिकारी माओवादीले यस्तो माग गरेको हो ।

माडी नगरपालिका ९, कुसुमखोलामा पुगी स्थलगत अवलोकनपछि सदरमुकाम फर्किएर क्रान्तिकारी माओवादीका जिल्ला तहका नेताले त्यहाँको बस्तुस्थिति बुझ्दा सरकारबाट राज्यआतङ्क सिर्जना गर्ने काम भएको बताएका हुन् । पत्रकार भेटघाटमा बोल्दै पार्टीका जिल्ला सेक्रेटरी अशोक शर्माले निकुञ्जका सुरक्षाकर्मीबाट माडीमा सुकुम्बासीका घर जलाउने र पिप्लेमा चेपाङ युवकलाई कुटेर मार्ने काम राज्यआतङ्क भएको बताए । 

‘निकुञ्जका वार्डेनको आदेशपछि सहायक वार्डेनको नेतृत्वमा सात वटा हात्ती चढेर गएका निकुञ्जका सुरक्षाकर्मी र कर्मचारी गरी २५ जनाको टोलीले झुप्रामा आगो लगाउने र घर भत्काउने काम भएको छ’ सेक्रेटरी शर्माले भने, ‘माडी र पिप्लेमा भएका घटना राज्यआतङ्कका घटना हुन् । दोषीमाथि कारबाही हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस