सडकमा निस्कँदा मास्क अनिवार्य, नलगाए पक्राउ

पत्रपत्रिकाबाट

सोमबार, १२ साउन २०७७, ०७ : २९
सडकमा निस्कँदा मास्क अनिवार्य, नलगाए पक्राउ

काठमाडौं । गृह मन्त्रालयले मास्क अनिवार्य गराउन मातहतका निकायलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको र सर्वसाधारणले मास्कको प्रयोगमा अटेर गरेको भन्दै गृहले आइतबार सो निर्देशन दिएको हो ।

गृहले पहिलो पटक गत २२ असारमा गरेको आदेश कार्यान्वयन नभएको भन्दै आइतबार दोस्रो पटक मास्क प्रयोग नगर्नेहरूउपर कडा रूपमा प्रस्तुत हुन ७७ वटै जिल्ला प्रशासन कार्यालयसहित प्रहरीलाई निर्देशनात्मक परिपत्र गरेको हो । पत्रमा मास्क नलगाई अटेर गरेर जथाभावी रूपमा सडकमा निस्किए पक्राउ गर्न भनिएको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि गरिएको परिपत्रलाई नै कडाइका साथ लागु गर्न भनिएको जानकारी दिए ।  ‘लकडाउन सकिए पनि संक्रमणको खतरा कायमै छ, यस्तो अवस्थामा घरबाट बाहिर निस्कँदा मास्क प्रयोग गर्न भनेका हौं । मास्क नलगाई हिँडे प्रहरीले पक्राउ गर्न सक्छ,’ अधिकारीले भने । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस