‘विदेशबाट आउनेको दुईपटक पीसीआर जरूरी’

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ साउन २०७७, ०७ : ४१
‘विदेशबाट आउनेको दुईपटक पीसीआर जरूरी’

काठमाडौँ । काठमाडौं उपत्यकामा ९ जनासहित बिहीबार १ सय ४७ संक्रमित थपिएका छन् । लकडाउन हटाइएसँगै बजारमा भीड बढिरहेको तर सरकारले आवश्यक आधार तयार नगरेको भन्दै विज्ञहरूले संक्रमण झनै बढन सक्ने बताएका छन्  । 

उनीहरूले स्थल र हवाई मार्गबाट विदेश ओहोरदोहोर गर्दा अनिवार्य क्वारेन्टाइन बस्नुपर्नेलगायतका थप जनस्वास्थ्य सतर्कता अपनाउन सुझाव दिएका छन् । विदेशबाट आउने व्यक्तिले १४ दिन क्वारेन्टाइनमा बसेपछि कम्तीमा दुईपटक पीसीआर परीक्षण गर्नुपर्ने बताएका छन् । सरकारले भदौ १ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । ‘अन्तर्राष्ट्रिय आवागमन खोल्नुको विकल्प छैन, तर विदेशबाट स्थल वा वायु मार्गबाट आउने जोसुकैले १४ दिन अनिवार्य क्वारेन्टाइन बस्नैपर्ने प्रावधान कडाइसाथ लागू हुनैपर्छ,’ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘होम क्वारेन्टाइनमा बस्नेबारे सरकारी गाइडलाइनमा पीसीआर गर्नुपर्ने प्रावधान स्पष्ट छैन ।

विदेशबाट आउने सबैका लागि पीसीआर अनिवार्य हुनुपर्छ ।’ होम क्वारेन्टाइनको निगरानी स्थानीय सरकारका साथै केन्द्र सरकारबाट समेत हुनुपर्ने उनको भनाइ छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बाबुराम मरासिनीले नेपाल–भारत सीमा सिल जारी राख्नुपर्ने बताए ।

‘छिमेकी मुलुक भारतमा समुदायमा संक्रमण गइसकेको छ,’ डा। मरासिनीले भने, ‘यो स्थितिसँग जुध्न हामीले विशेष जनस्वास्थ्य रणनीति बनाउनु आवश्यक छ ।’ सरकारले साउन मसान्तसम्म सीमा बन्दको घोषणा गरेको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले सीमा बन्द भए पनि भारतबाट आउने क्रम नरोकिएको बताए ।

‘विदेशबाट उडेर आउनेहरूजस्तै स्थल नाकाबाट आउनेलाई जनस्वास्थ्य मापदण्ड पूरा गरेर मात्र भित्रिने व्यवस्था मिलाउन आवश्यक छ,’ उनले भने । विज्ञहरूका अनुसार विदेशबाट आउन खोज्नेलाई सरकारले निर्धारण गरेको मापदण्डअनुसार गुणस्तरीय प्रयोगशालाबाट ७२ घण्टाअघि गरेको पीसीआरको नेगेटिभ रिपोर्ट चाहिने व्यवस्था मिलाउनुपर्छ । ‘विदेशबाट स्थल र हवाई मार्गबाट आउने जोसुकैलाई दुईपटक पीसीआर परीक्षण, एकपटक गुणस्तरीय आरडीटी परीक्षण र १४ दिन क्वारेन्टाइनमा अनिवार्य राखेनौं भने कोभिड महामारीको सामना गर्न तयार रहनुपर्छ,’ वरिष्ठ छाती रोग विशेषज्ञ प्रा.डा. करवीरनाथ योगीले भने । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस