संसदिय समितिले भन्यो : अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति के को आधारमा आएको हो ?

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ साउन २०७७, ०७ : ३२
संसदिय समितिले भन्यो : अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति के को आधारमा आएको हो ?

काठमाडौँ । राम जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर संसदीय समितिमा प्रश्न उठेको छ । त्यसको आधार के हो भन्नेबारे सांसदहरूले प्रश्न उठाएका हुन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा सांसदहरूले अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति के को आधारमा आएको हो भनेर प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा राम नेपाली भएको र उनको जन्मभूमि भारतमा रहेको अयोध्या नक्कली भएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको सत्यतथ्य पत्ता लगाउनुपर्ने सांसदहरूले बताएका हुन् ।

कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले अयोध्या र ठोरीका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई व्यक्तिगत रूपमा लिन नहुने बताए । उनले ठोरीको अनुसन्धान लागि के व्यवस्था भएको छ भनेर प्रश्न गरेका थिए । ठोरीमा राम जन्मभूमि हो भन्ने यकिन गर्नका लागि कति अनुसन्धान भइरहेको छ ? भन्ने उनको प्रश्न थियो । प्रधानमन्त्री ओलीले के आधारमा भन्नुभएको हो ? अहिले अनुसन्धान कुन चरणमा पुगेको छ ? त्यसको विषयमा जानकारी हुनुपर्छ, उनले भनेका थिए ।
अनुसन्धान र सत्यतथ्य प्रमाणित नभएको विषयमा प्रधानमन्त्रीले बोलेपछि बहस सुरु भएको कांग्रेस सांसद पुष्पा भुसालको भनाइ थियो । मुलुकको कार्यकारी प्रमुखले रामको जन्म नेपालमा भयो भनेपछि अहिले मिडियामा बोल्नेहरू नै विशेषज्ञ जस्तो गरी छलफलमा सहभागि भइरहेका छन्, उनले भनिन्, यस्ता विषयलाई हल्का छलफलको विषय बनाउन हुन्न । नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन खोज्दा यस्ता विषयवस्तुहरूमाथि सरकार प्रमुखले धारणा राख्नु हुँदैन । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस