राष्ट्रपति भण्डारीले किन बोलाइन सम्पादकहरुलाई ?

नेकपाभित्रको विवादमा राष्ट्रपति विद्या भण्डारी आफै विवादित बन्न थालेपछि शुक्रबार दिउँसो राष्ट्रपतिले सम्पादकहरुलाई शितल निवासमा बोलाएर छलफल गर्न लागेकी छिन्

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०७७, ०९ : ५४
राष्ट्रपति भण्डारीले किन बोलाइन सम्पादकहरुलाई ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सत्तारुढ नेकपाको आन्तरिक राजनीतिमा प्रत्यक्ष जोडिन थालेपछि विवाद बढ्दै गएको छ । सम्वैधानिक राष्ट्रपति, संविधानको रक्षक र कुनै पनि दलको सदस्य हुन नहुने, निश्पक्ष हुनुपर्ने ब्यक्तिले कुनै दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने, नियोजित चासो राख्ने कुरा संविधानले दिएको छैन् । तर राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको राजनीतिमा झण्डै तेश्रो अध्यक्षकै रुपमा मुछिन थालेपछि आलोचना बढेको छ ।

प्रधानमन्त्री ओलीमाथीको सत्ता संकट टार्ने, ओलीले सम्वैधानिक, असम्वैधानिक जे जस्ता प्रक्रिया अगाडी बढाएपनि आँखा चिम्लेर लाहाछाप लगाईदिने जस्ता काममा राष्ट्रपति मुछिन थालेपछि उनको चौतर्फी आलोचना शुरु भएको छ । उनको कार्यकारी छाप सत्तारुढ दल नेकपामा उत्तिकै देखा परेको भन्दै पटक पटक उनको भूमिका माथी प्रश्न उठिरहेको छ । सञ्चारमाध्यमहरुले उनको यस्तो भूमिकामा प्रश्न उठाउन थालेपछि राष्ट्रपतिले सञ्चारमाध्यममा सम्पादकहरुलाई बोलाएर छलफल गर्न लागेकी छिन् ।

विस्वस्त स्रोतले सफलखबरलाई दिएको जानकारी अनुसार, राष्ट्रपति भण्डारीले भोली शुक्रबार दिउँसो नेपालको ठूला सञ्चारमाध्यमका सम्पादकहरुलाई शितल निवासमा बोलाएर छलफल गर्न लागेकी हुन् । भण्डारी राष्ट्रपति हुनु भन्दा अगाडी तत्कालिन एमालेको उपाध्यक्ष थिइन् । ओली समुहबाटै उनले पार्टी उपाध्यक्षमा चुनाव जितेकी थिइन । पार्टीको महिला संगठनको अध्यक्ष पनि थिइन् । रक्षामन्त्री समेत भएकी थिइन् । ओलीलाई आफनो पार्टीभित्रको गुट सञ्चालनमा उनकै प्रमुख साथ र सहयोग रहदं आएको थियो ।

पछि संविधान निर्माणपछि उनी राष्ट्रपति बन्न पुगिन । तर पनि उनले पार्टी राजनीति अझै त्याग्न नसकेको भनी उनको भूमिका माथी प्रश्न उठ्न थालेको छ । कतिपय सन्र्दभमा राष्ट्रपतिको संस्थालाई प्रधानमन्त्री केपी ओलीले जोड्न खोजेका छन भनेक कतिपय सन्र्दभमा राष्ट्रपति आफैं सक्रिय भएर पनि नेकपाभित्रको आन्तरिक किचलोमो जोडिन खोजेका छन् । यो उनको अस्वभाविक चासो हो । दल विशेषको राजनीतिमा उनले राखेको चासो अस्वभाविक भएको भन्दै निष्पक्षता माथी प्रश्न उठ्न थालेको छ । स्यवं सत्तारुढ दल नेकपाकै कतिपय नेताहरुले यो प्रश्न उठाउन थालेका छन् । नागरिक स्तरबाट ‘कसको राष्ट्रपति, नेकपा कि देशको’ भन्ने प्रश्न उठ्न थालिसकेको छ । 

उनको यो भूमिका निश्चय पनि विडम्बनापूर्ण छ । राष्ट्रपतिबाट भइरहेका एकपछि अर्का यस्ता क्रियाकलापले यो संस्थाकै अवमूल्यन गरिरहेको राजनीतिक विश्लेषक कृष्ण खनालको बुझाई छ । संसद् अधिवेशनको हठात् अन्त्यदेखि गत वैशाखमा दुई विवादास्पद अध्यादेश ल्याइँदा पनि उनको भूमिकामाथि प्रश्न उठेको थियो । संविधानका अक्षरहरू आफैंमा निर्जीव भए पनि तिनले जीवन्त विवेक प्रयोगको अपेक्षा राख्छन । तर सत्तारुढ दल भित्रको उनको अस्वभाविक चासोका कारण उनी आलोचित हुन थालेपछि उनले प्रतिष्ठित सञ्चारमाध्यमका सम्पादकहरुलाई बोलाएर भेट्न खोजेकी हुन् । 

राष्ट्रपतिले भेट्न खोज्नभुएको छ, केही सम्पादकहरुसँग, शुक्रबार शितल निवास आउनुहोस् भन्दै निम्तो आएको छ, निम्तो पाएका मध्येका एक सम्पादकले भने, सामान्य छलफल भन्दै बोलाईएको छ ।  सत्तारुढ दल भित्रको विवादमा ओलीको रक्षाकवचका रुपमा उनले केही समय यता सांसदहरुलाई बोलाएर छुटाछुटै छलफल गर्ने, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधव नेपाल लगायत नेताहरुलाई पनि अलग अलग बोलाएर ओलीको कमजोरीको बचाउमा लाग्ने गरेकी समाचार सञ्चारमाध्यमा आएकै छन् ।

त्यक्तिमात्रै होइन, नेकपाभित्र कुनै निर्णय हुन लाग्दा त्यसको अघि पछि प्रधानमन्त्री ओलीको राष्ट्रपतिसँग भेटवार्ता हुनु र निर्णय प्रक्रियामा पुग्नुले पनि राष्ट्रपति भण्डारीको निश्पक्षतामा प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्रीले सरकार प्रमुखका रूपमा राष्ट्रपतिलाई भेट्नु राजकाजभित्रै पर्ने कुरा भयो, तर उनले र पार्टीका अरू नेताहरूले पनि दलगत विषयमा बारम्बार शीतल निवासको मध्यस्थ, आशीर्वाद या साक्षी खोज्नु सरासर गलत छ । शीतलनिवास नेकपाको मुख्यालय होइन, राष्ट्रप्रमुखको कार्यथलो हो ।

यसलाई पार्टी विशेषको गृहकलहमा तान्दा व्यक्तिगत रूपमा राष्ट्रपति भण्डारी मात्र विवादमा आउने होइन, त्यसले राष्ट्रपति संस्था, गणतान्त्रिक व्यवस्था र समग्रतामा मुलुककै समेत कल्याण नगर्ने राजनीतिक विश्लेषकहरुले बताईरहेका छन् । सञ्चारमाध्यमबाट भण्डारीको निश्पक्षतामा प्रश्न उठ्न थालेपछि उनले सम्पादकहरुलाई बोलाएर छलफल गर्न खोजेको हुन सक्ने अनुमान निम्तो पाएका सम्पादकहरुले गर्न थालेका छन् । 
 

प्रतिक्रिया दिनुहोस