चेपाङको घरमा आगो लगाउनेलाई कारबाहीको माग

सफल खबर संवाददाता

बुधबार, ०७ साउन २०७७, १३ : ५७
चेपाङको घरमा आगो लगाउनेलाई कारबाहीको माग

चितवन । माडी नगरपालिका वडा नं ९ स्थित कुसुमखोलामा रहेका चेपाङका घरमा आगो लगाउने दोषीलाई कडा कारबाहीको माग गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जले माडी कुसुम खोलामा रहेको चेपाङ बस्तीका दुई घरमा आगो लगाएका थिए भने ८ घर हात्ती लगाएर भत्काइएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले चेपाङका घरमा आगो लगाउने र हात्ती लगाएर घर भत्काउनेलाई कडा कारबाहीको माग गरेको छ । 

भुमिहिन अवस्थामा रहेका चेपाङ्ग समुदाय विगत २३ वर्षदेखि माडीको कुसुमखोलामा बसोवास गर्दे आएका छन् ।  निकुञ्जले जर्वजस्ती स्थानीय उपभोक्ताको अधिकार कुण्ठित गरी अमानवीय व्यवहार गरेको महासंघले जनाएको छ । 

महासंघकी अध्यक्ष भारती पाठकले विज्ञप्ति जारी गरी घटनाका दोषीलाई कडा कारबाहीको माग गरिएको छ ।  विज्ञप्तिमा भनिएको छ, ‘मध्य वर्षाको समयमा घरमा आगो लगाउने समेतको काम हुनु मानवीय होइन । यसमा मानव अधिकार आयोगले समेत चासो दिनु जरुरी छ ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तरगतका निकाय आरक्षण, संरक्षण क्षेत्र तथा मध्यवर्ती यामुदायिक वन उपभोक्ता समूहमा स्थानीय समुदायको वन व्यवस्थापन अधिकार कटौति, मानव अधिकार हनन् हुने गरी गतिविधि भइरहेको विज्ञप्तिमा उल्लेख छ ।  राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्र वरिपरि असुरक्षित गतिविधि हुने गरेको विषय पटक पटक उठाउँदै आएको भन्दै तत्काल यस्तो कार्य रोक्न र दोषीलाई कारवाही गर्न माग गरिएको छ । 

स्थानीय समुदायले सालको पात निगुरो टिप्न समेत नपाउने व्यवस्थाबाट समुदायका विपन्न महिला, दलित, आदिवासी जनजाति लगायत समुदायको अधिकारमा आघात् पुगिरहेको महासंघको भनाइ छ । ‘निकुञ्जले विपन्न वर्ग व्यवस्थापन होइन मध्य वर्खामा आगो लगाएर उठिवास गराउनु मानवीय समवेदनाको पराकाष्ट हो’ विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस