चितवन । केही दिनदेखिको अविरल वर्षासँगै नदीमा पानीको सतह बढेपछि नारायणी नदीको सतहले सोमबार खतराको बिन्दु पार गरेको छ ।
देवघाटधाममा रहेको जलमापन केन्द्रका अनुसार, देवघाटनजिक नारायणी नदीको सतह आठ दशमलव ५१ मिटर पुगेको छ । यहाँ आठ मिटरलाई खतराको बिन्दु मानिन्छ । नारायणी पुलमुनि नदीको सतह ११ मिटर पुग्यो भने चेतावनीको तह मासिनन्छ । यहाँ पानीको सतह ११ दशमलव ७२ मिटर पुगेको छ ।
जलस्तर बढ्दो क्रममा नै रहेको छ । नारायणी नदी उर्लिएसँगै चितवनको पश्चिमी क्षेत्र मङ्गलपुर, गुञ्जनगर, दिव्यनगर र मेघौलीमा कटान र डुबानको खतरा बढेको छ । नारायणी पारि नवलपरासी (सुस्तापूर्व) जिल्लाका विभिन्न क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना निकालेर नदीतटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सावधानी अपनाउन अपिल गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निरन्तर वर्षा भइरहेका कारण बाढीको त्रास कायम रहेको भन्दै सबैलाई सजग रहन अनुरोध गरे ।
त्रिशुलीले छोयो झोलुङ्गे पुल
भरतपुर महानगरपालिका २९, सिमलतालमा रहेको झोलुङ्गे पुलको बीच भागलाई त्रिशुली नदीले नाघेको छ । सिमलताललाई तनहुँसँग जोड्ने पुलको मध्यभागमा बाढीले हिर्काइरहेकोले पुल बग्ने खतरा बढेको छ । बाढीले पुल छोएपछि त्यहाँ आवतजावत बन्द भएको छ । त्रिशुली नदीको सतह बढेपछि भरतपुर महानगरपालिका १, दासढुङ्गामा रहेको पक्की पुलको पिल्लर पुरै पानीमा डुबेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो
अविरल वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा ठूलो पहिरो गएको छ । चारकिलोमा गएको पहिरोका कारण बिहानैबाट अवरुद्ध सडक साँझसम्म खुल्न सकेको छैन । इच्छाकामना गाउँपालिका ६ मा पर्ने चारकिलोमा यसअघि पनि सानातिना पहिरो जाने गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
सोमबार, ०५ साउन २०७७, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
छठका लागि सजाइयो नारायणी किनार
नारायणी नदीले गैडाकोटका एक सयभन्दा बढी घर डुबानमा
नारायणी नदीले सतर्कता तह पार गर्यो