नेकपा चितवनले भन्यो– निकुञ्जको आगजनी जनविरोधी हर्कत

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०७७, १५ : ३३
नेकपा चितवनले भन्यो– निकुञ्जको आगजनी जनविरोधी हर्कत

चितवन । नेकपा चितवनले गत शनिबार माडी ९ कुसुमखोलामा रहेका सुकुमबासी बस्तीमा चितवन निकुञ्जले गरेको आगजनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’ र सचिव कृष्णभक्त पोख्रेलले संयुक्त रुपमा विज्ञप्ति जारी गरी वर्षादको समयमा न्यूनतम मानवीयतासमेत नराखी स्थानीय तह तथा राजनीतिक दलसँग कुनै परामर्श नगरी चितवन राष्ट्रिय निकुञ्जले गरेको यस प्रकारको जनविरोधी हर्कत मान्य नहुने जनाएका छन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘दोषीउपर कडा कारबाही र घरबासविहीन जनताको पुनर्बासको लागि जोडदार माग गर्दछौँ ।’ 

माडी नगरपालिका–९ कुसुमखोलामा रहेको सुकमबासी चेपाङ समुदायका दुई घरमा आगजनी र ८ घरमा हात्ती लगाएर भत्काइएको थियो । नेकपाका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केही दिन अगाडि माडी आएर कुसुमखोलाको बस्तीलाई उचित स्थानान्तरण र पक्की आवास निर्माणको काम अगाडि बढाउन माडी नगरपालिकालाई निर्देशन दिनुभएको थियो ।

प्रचण्डको निर्देशनपछि माडी नगरपालिकाले सो बस्तीलाई स्थानान्तरण गर्ने प्रक्रिया अगाडि बढाएको थियो । स्थानान्तरणको प्रक्रिया अगाडि बढिरहेको बेला बस्तीमा आगजनी गरी घरहरु भत्काइएकोमा विज्ञप्तिमा खेद प्रकट गरिएको छ । 

विज्ञप्तिमा दाङबहादुर प्रजा र दीपबहादुर चेपाङको घरमा आगजनी भएको जनाइएको छ । अन्य आठवटा घरहरुमा हात्ती लगाई भत्काइएको विज्ञप्तिमा उल्लेख छ । विसं २०५३ सालमा जनताले गरेको सुकुमबासी संघर्षपछि चितवनको माडी–९ कुसुम खोलामा बसोबास गर्दै आइरहेका थिए । उनीहरुको यथोचित व्यवस्थापन र न्यूनतम मानवीय आवश्यकता पूरा गराउन नेकपा निररन्तर संघर्षमै रहेको बेला यस्तो हर्कत हुनु आफैँमा निन्दनीय कार्य रहेको विज्ञप्तिमा उल्लेख छ । 

नेकपा चितवनले अविरल वर्षाका कारणले बाढी पहिरोजस्ता विपतहरु आउन सक्ने र धनजनको क्षति हुने सम्भावना भइरहेको हुँदा  विपतका पूर्वतयारी, राहत र पुनस्र्थापनाका लागि तम्तयार रहन सम्पूर्ण कार्यकर्तामा अपिल गरिएको छ । 

यस्तै वर्षातको समयमा न्यूनतम मानवीयता समेत नराखी स्थानीय सरकार र राजनीतिक दलहरुसँगको परामर्श र समन्वय नगरी चितवन राष्ट्रिय निकुञ्जले गरेको यस प्रकारको जनविरोधी कार्यको सर्वत्र विरोध भइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस