प्रधानमन्त्री ओलीको नयाँ अस्त्रमा फेरि किन भए नेताहरु विभाजित ?

सफल खबर संवाददाता

आइतबार, ०४ साउन २०७७, ०९ : १३
प्रधानमन्त्री ओलीको नयाँ अस्त्रमा फेरि किन भए  नेताहरु विभाजित ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली आफुमाथीको संकट टार्ने मेसोमा अन्य नेता भन्दा माहिर छन् भन्ने पुष्टि फेरि एकपटक भएको छ । उनले निक्कै उत्र्कषमा पुगेको र आफ्नै राजीनामा माग गरिरहेका नेताहरुलाई समेत मथ्थर बनाउदै फकाउने, थर्काउने, गलाउने र नेताहरुलाई आस्वासनको पुलिन्दामा सुताएर फेरि आफै अब्बल बन्ने रणनीतिमा एकपटक सफल देखिएका छन् । 

प्रसंग हो, शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकको । उनले पार्टी भित्र आफुविरुद्ध बन्दै गएको गठवन्धन फेरि एकपटक तोडेर देखाईदिएका छन् । प्रधानमन्त्री ओली पार्टी र सरकार दुवै मोर्चामा असफल भएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका बहुमत नेताहरुले पार्टीको जारी स्थायी समिति बैठकमा राजीनामा माग गरे । यस्तै माग गत वैशाखमा पार्टी सचिवालय बैठकमा पनि भएको थियो । त्यसबेला पनि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतले ओलीको राजीनामा माग गरेका थिए । 

पार्टी विभाजनसँग सम्बन्धित अध्यादेश ल्याएर कोरोना कहरका बेला सरकारको ध्यान जनताको समस्यामा नदेखिएको आरोप लागरिहेपछि ओलीको राजीनामा पार्टीभित्र माग भएको थियो । तर त्यसलाई ओलीले सहज एउटै छेप्यास्त्र प्रहार गरि तुहाईदिए । उनले आफ्नो राजीनामा माग गर्ने नेताहरुकै सामुन्ने भनिदिए, म राजीनामा दिन्छु तर कोरोनापछि । त्यसपछिको प्रधानमन्त्री वामदेव गौतम । 

निर्वाचन हारेका र संसदमै नरहेका ब्यक्तिलाई प्रधानमन्त्री ? त्यो पनि कोरोना कहर लगत्तै ? कसरी सम्भव थियो । ओलीले त्यसबेला आफ्नो राजीनामा माग गर्दै सचिवालयका ९ मध्ये ५ जना बिच बनेको गठबन्धन भत्काउने उनको योजना थियो । नभन्दै गौतमले मुख मिठाईहाले, आफु सांसद छैन भन्ने पनि बिर्सिएर उनले पदको लालचा देखाईहाले । अनि भने, लौ भन्नुहोस्, कहिले राजीनामा दिने ? मलाई कहिले बनाउने ?

तीन दिनका बीचमा नयाँ मोड लियो, ओलीले वामदेव र बादललाई आफ्नो तिर तानेर सत्ता संकट जोगाउने रणनीतिमा सफल बने । २० वैशाखमा ओली र प्रचण्ड सहितका नेताहरुले आ–आफना कमजोरी भएको भन्दै आत्मआलोचना गरे । विवादलाई अस्थायी रुपमा टालटुल पारे । न वामदेव संसदमा जाने कुनै बाटो बन्यो, न उनी प्रधानमन्त्री नै बन्ने कुरा आयो । कुरा त्यक्तिकै सेलायो ।  नेकपाभित्रको विवाद त्यक्तिमा मात्र सिमित रहेन् । त्यसपछि पनि स्थायी समिति सदस्यले माग गरे अनुसारको बैठकको विषय पार्टीमा उठि नै रहे । अनि बोलाइयो, बल्लतल्ल असार १० बाट ।

प्रधानमन्त्री निवास बालुवाटारमै बोलाईएको बैठकमा सिधासिधा ओलीको राजीनामा माग भएको थिएन् । दुई अध्यक्षले आफ्ना असन्तुष्टि पोखेका थिए , भारतसँगको सीमा विवाद र समाधानका विषय बैठकमा छलफल हुदै थिए । तर एक्कासी प्रधानमन्त्री ओलीले असार १४ मा नक्सा सार्वजनिक गरेको विषयमा आफुलाई भारतले हटाउन षडयन्त्र गरिरहेको र त्यसमा नेपालकै नेताहरु पनि सामेल भएको गम्भीर आरोप लगाए । त्यसपछि त उनको १६ असारमा बसेको स्थायी समिति बैठकमा प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले धमाधम राजीनामा दुवै पदबाट माग्न थाले ।

त्यसपछि भने, नेकपा विभाजन नै हुन्छ की भन्ने तहसम्मै विवाद बढ्यो । बहुमत नेताहरुले ओलीको स्वेच्छाचारिताको विरोधमा आवाज उठाई नै रहेका थिए । तर ओलीले यो बीचमा फेरि यस्तो अस्त्र फ्याके, नेताहरु त्यही अस्त्रभित्रै रुमल्लिन थाले । अर्थात, ओलीले सम्भव नै नहुने मंसिरमा पार्टीको अर्ली महाधिवशेन गर्ने प्रस्ताव सचिवालय बैठकमा गरे । कोरोना कहर, चाडवाडको समय, सदस्यता अभिलेख नै तयार नभईसकेको अवस्था, नविकरण लगायतका कुनै काम पार्टीमा भएकै छैन, ओलीले अर्ली महाधिवशेनको प्रस्ताव बैठकमा राखे । 

त्यसैमा सहमति जनाए, अध्यक्ष प्रचण्डले पनि । विगतमा उठेको राजीनामाको प्रस्ताव तुहाउन वामदेवलाई प्रधानमन्त्रीको प्रस्ताव गरेर ओलीले उनकै शब्दमा छेप्यास्त्र प्रहार गरे । अहिले ठिक त्यस्तै सम्भव नै नहुने मंसिरमा महाधिवशेन गर्ने छेप्यास्त्र प्रहार गरेका छन् । यो छेप्यास्त्रले प्रचण्ड र माधव नेपालको बीचमा बनिरहेको गठबन्धनमा ब्रेक लाग्ने अवस्था निम्तेको छ ।  प्रचण्डले महाधिवेशनको प्रस्तावमा समर्थन जनाएपछि नेकपाको हिजो शनिबार बोलाईएको सचिवालय बैठकले नेकपाभित्रको विवादलाई नयाँ मोडमा लगिदियो ।

जसकाकारण ओलीको स्टाटेजी फेरि एकपटक सफल हुन पुगेको छ । ओलीले ५ वर्ष नै आफु सरकारको नेतृत्व गर्ने तर छिटो महाधिवशेन गरेर सम्मानजनक रुपमा नै आफु पद हस्तान्तरण गर्न तयार रहेको बताएपछि प्रचण्डले महाधिवशेन गर्ने सवालमा सहमति जनाईदिए । ओली प्रचण्ड त्यस अगाडी बालुवाटारमै झण्डै दुई घण्टा बढी छलफलमा बसेर आएका थिए । त्यसपछि सचिवालयमा माहोल नै अर्काे बन्यो । ओलीको राजीनामाको विषय पर्दा पछाडी धकेलियो ।  वरिष्ठ नेता नेपालले दुई नेताको चोचोमोचो आफुलाई स्वीकार्य नभएको भन्दै आफु आफ्ना विषय लिएर राष्ट्रब्यापी कार्यकर्ता भेलामा जाने उदघोष नै बैठकमा गरिदिए ।

यसले प्रचण्ड माधव सम्वन्धमा समेत संकट ल्याईदिएको छ । तर प्रचण्डको सचिवालयले भने प्रधानमन्त्रीले प्रस्ताव मात्र ल्याएको सहमति नभईसकेको प्रष्टाएको छ । प्रचण्डका स्वकीय सचिव गंगा दाहालले महाधिवशेन लगायतका विषयमा छलफल भएपनि कुनै पनि विषयमा सहमति नभएको जनाएकी हुन् । उनले भनिन्,–‘सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकोले कुनै सहमति जुटिसकेको छैन ।’ प्रधानमन्त्रीले आफ्नो तर्फबाट प्रस्ताव राख्नुभएको छ, तर यो सहमति भईसकेको विषय होइन, उहाँको प्रस्ताव मात्रै हो, प्रस्तावलाई सहमति भनी प्रचार गरिनुको कुनै तुक छैन् ।

प्रतिक्रिया दिनुहोस