एउटा अनौठो जनावर ‘अल्पाका’

पत्रपत्रिकाबाट

शनिबार, ०३ साउन २०७७, ०८ : ४७
एउटा अनौठो जनावर ‘अल्पाका’

हेटौडा । मकवानपुरको पर्यटकीय गन्तव्य चित्लाङ हरेक सम्भावनाले भरिपूर्ण छ। यो भेग कृषि, पशुपालन र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण छ । राजधानी काठमाडौंबाट करिब ६० किमिको पश्चिमदक्षिण दिशामा अवस्थित चित्लाङका बारेमा धेरैलाई थाहा हुन सक्छ ।

तर, त्यही चित्लाङमा यस्तो अनौठो जनावर पनि पालिएको छ, त्यसका बारेमा भने कमैलाई मात्रै थाहा होला। जिल्लाको थाहा नगरपालिका वडा नम्बर १० मा पर्ने बिसिङखेल भन्ने ठाउँमा यो जनावर पालिएको हो । झट्ट हेर्दा यो जनावर ऊँट जस्तो देखिन्छ भने नियालेर हेर्दा भेडा र घोडाको प्रजाति जस्तो देखिन्छ ।

घाँटी र टाउको ऊँटको जस्तै छ। यसको हिँडाइ पनि ऊँट जस्तै छ । रौं हेर्दा भेडाजस्तो देखिन्छ। पुच्छर भने घोडाको जस्तो छ। तर, यो जनावर ऊँट, घोडा वा भेडामध्ये कुनै पनि होइन भन्ने सुन्दा अचम्म लाग्न सक्छ । आखिर के रहेछ त यो अचम्मको जीव रु जर्मन भाषामा यसलाई अल्पाका भनिँदो रहेछ । नेपालीमा पनि यही नामले चिनिन्छ । 

विगत २० वर्षदेखि यो जनावरको हेरचाह गर्दै आएका दोलखा जिरीका गंगा जिरेलका अनुसार यो जनावरलाई पहिलोपटक जर्मनी नागरिक हार्टमुट बाउन्डरले नेपालमा भित्याएका थिए । उनले शुरूमा दोलखाको जिरीमा सोखका लागि यो जनावर पालेका थिए । मकवानपुरको बिसिङखेलमा २ वर्षदेखि अल्पका पालिँदै आएको भए तापनि नेपालमा यो जनावर भित्रिएको भने २० वर्ष भइसकेको छ । अल्पकाले एक वर्षमा एकपटक मात्रै बच्चा जन्माउँछ र एकपटकमा एउटा मात्रै पाउँछ। 

यसको आयु २५ वर्षसम्म हुन्छ।चित्लाङको यस फर्ममा अहिले २० वर्ष पुगेका अल्पकासमेत छन् । बिसिङखेलस्थित अल्पकाज फर्ममा अहिले सेतो, खैरो र कालो रंगका गरी १५ वटा अल्पका छन्। उनीहरूलाई दिनमा ४ देखि ५ भारीसम्म घाँस आवश्यक पर्ने जिरेल बताउँछन्।

अल्पाकाको अनौठो स्वभाव

अल्पाकाको स्वभाव पनि अनौठो खालको हुन्छ। अल्पकाको भाले र पोथीलाई छुट्टाछुट्टै राख्नुपर्छ। केही गरी सँगै राख्यो भने झगडा गरेर हैरान पार्छन् ।  यिनीहरू माइनस १० डिग्री सेल्सियससम्मको चिसोमा पनि बाँच्न सक्छन्। जिरेलले अल्पकाले मान्छेलाई गर्ने व्यवहारदेखि दिसापिसाब गर्ने स्वभावसम्मका कुराहरू सुनाए । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस