कोरोना असर : बैंक किस्ता तिर्ने समय ३ महिनादेखि १ वर्षसम्म थपिँदै

पत्रपत्रिकाबाट

शुक्रबार, ०२ साउन २०७७, ०८ : १९
कोरोना असर : बैंक किस्ता तिर्ने समय ३ महिनादेखि १ वर्षसम्म थपिँदै

काठमाडौं । कोभिड–१९ को असरले ऋण तिर्न नसक्ने ऋणीले साँवा–ब्याज भुक्तानीका लागि तीन महिनादेखि एक वर्षसम्म समय पाउने भएका छन् ।  राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उक्त सुविधा दिन लागेको हो । मौद्रिक नीति निर्माण अन्तिम चरणमा रहेकाले शुक्रबार सार्वजनिक हुने सम्भावना अत्यधिक रहेको स्रोतले बताएको छ ।

कोभिडका कारण राष्ट्र बैंकले नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरी मौद्रिक नीति सार्वजनिक गर्नेछ । मौद्रिक नीतिमा कोभिड–१९ को असरले थला परेको अर्थतन्त्रमा सरोकारवालाहरूको मनोबल बढाउन विभिन्न राहत कार्यक्रम ल्याउन लागिएको स्रोतले बताएको छ ।

जसमा कोभिड–१९ को असरले प्रभावित ऋणीलाई कम, मध्यम र धेरै प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ । ‘सोही वर्गीकरणअनुसार साँवा तथा ब्याज भुक्तानीका लागि तीन महिनादेखि एक वर्षसम्मको समयावधि दिन लागिएको छ,’ स्रोतले भन्यो, ‘यसरी धेरै समयावधिको सुविधा पाउनेमा होटल, एयरलाइन्स, पर्यटनलगायत कोभिडबाट बढी प्रभावित क्षेत्र छन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस