धार्मिक आस्था : साउन महिनामा किन माछामासु खानुहुदैन ?

सफल खबर संवाददाता

बुधबार, ३१ असार २०७७, १० : १२
धार्मिक आस्था : साउन महिनामा किन माछामासु खानुहुदैन ?

काठमाडौं । आज असार महिनाको अन्तिम दिन । भोलिबाट साउन महिना शुरुहुँदैछ । धार्मिक आस्था राख्ने पुरुष तथा महिलाहरुका लागि विशेष महिना ।  साउनलाई बोलबमको महिना, भगवान शिवको पुजाआरधानाको गर्ने  महिना मानिन्छ साथै अधिकांशले यो महिनामा प्रायः सोमबार उपवास बस्ने गर्छन् । तर विगतका वर्ष जस्तो यस वर्ष साउनको महिना त्यति रौनक नहुने निश्चित जस्तै छ । किनकी विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट नेपाल पछि अछुतो छैन् ।

सरकारले यसको रोकथाम तथा संक्रमण फैलन नदिन अधिकांश मठमन्दिरहरु अहिले बन्दको अवस्थामा राख्न आव्हान नै गरेका छन् । तसर्थ, पोरपरार जस्तो यो साउनमा मन्दिर पुगेर जलअर्पण तथा पुजापाठ गर्न दर्शनार्थीलाई कठिनाई हुने निश्चित जस्तै छ । पूर्विय दर्शन अनुसार साउन महिनामा भगवान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिंगमा जल अर्पण गर्ने गरिन्छ । धार्मिक मान्यता अनुसार साउनको सोमवार व्रत बस्ने र शिवलिंगमा जल चढाउनाले घरमा सुख समृद्धि मिल्छ ।

साउन महिना, जो मध्य बर्षायामसँगै जोडिएर आउँछ । असारको चटारो सक्न नभ्याउँदै साउन महिना आउँछ । यतिबेला खेती किसानी गर्नेहरुले बालीनाली लगाएर विश्राम लिने बेला हुन्छ । तपाई, हामीलाई थाहै छ, हाम्रो देश कृषिमा आधारित छन् । धेरैजसो जनजीविका खेतीपातीबाटै धानिएको छ । साउन महिनामा किन ब्रत बस्ने, किन माछामासु नखाने, लहसुन, प्याज किन नखाने, कस्तो खानपिन उचित होला ? परापुर्व काल देखि चल्दै आएको यो प्रक्रिया किन महत्वपुर्ण छ ?

किन व्रत बस्ने ?
साउनमा व्रत एवं उपवास बस्ने भनेको भगवानलाई खुसी तुल्याउनका लागि मात्र होइन । वा आफ्नो मनोकांक्षा पुरा गराउन मात्र होइन ।  भनिन्छ, वर्खायाममा हाम्रो पाचन प्रणाली कमजोर हुन्छ । पानी लगायत विभिन्न खाद्य पदार्थको कारण पेटमा जीवाणु फैलने र झाडापखला लाग्ने संभावना हुन्छ । अर्कोतिर हाम्रो शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ । यसबेला उपवास बस्दा शरीरलाई फाइदा गर्छ ।

हामीले देखे, सुनेकै कुरा हो, झाडापखलाको संक्रमण यही महिनामा बढी फैलने गर्छ । त्यसैले वर्षायाममा हेपाटाइटिस, हैजा, ग्यास्ट्राइटिस, र विभिन्न भाइरल रोगहरु देखापर्छ । वर्षा र ओसिलो मौसमले यस्ता संक्रमण फैलने भय दोब्बर बढाइदिन्छ । यस्तो अवस्थामा खानपानप्रति सर्तक हुनैपर्छ ।यो संस्कारको विकास किन भयो होला भनेर अनुमान गर्ने अर्को पाटो पनि छ । हामी खेती किसानीमा आश्रति छौं । यतिबेला अन्नबाली लगाइसकेको बेला हो । र, भकारी रित्तिने बेला पनि । पूर्खाहरुले यसबेला खाद्य संकट पनि भोगे होलान् । त्यसैले अन्नपात जगेडाका लागि पनि उपवास एउटा राम्रो विकल्प हुनसक्छ ।

किन मासुमंस नखाइएको होला ?
साउनमा धेरैले माछामासु खाँदैनन् । कतिले सोमबार अन्न समेत खाँदैनन् । यसको आफ्नै धार्मिक तर्क छ । तर, यससँग धार्मिक तर्कमात्र जोडिएको छैन, वैज्ञानिक तर्क पनि छ ।माथि पनि उल्लेख गरियो यो सिजनमा संक्रमणको भय अधिक रहन्छ । र, मासुजन्य परिकारमा संक्रमणको बढी संभावना हुन्छ । मासुमंसमा जीवाणु फैलने । कुहिने, सड्ने हुन्छ । त्यही कारण यसबेला मासुमंस त्यती हितकर मानिदैन ।

वर्षायाम भनेको धेरै जसो पानीमा पाइने जीवहरुको प्रजननको महिना हो । पहिलेको जमानामा माछालाई व्यावसायीक रुपमा छुट्टै पोखरीमा पाल्ने र खानको लागि प्रयोग गर्ने चलन थिएन । प्राकृतिक नदीहरु र खोलामा पाइने सिमित माछाहरु प्रजनन महिनामा खाइदिएमा अर्को वर्ष माछाको सङ्ख्या घट्ने वा लोप नै हुने डर हुन्थ्यो । त्यसैले माछामासु खानमा नियन्त्रण गरिएको हुनुपर्छ ।

कस्तो खानपान उपयुक्त ?
यसबेला सात्विक भोजन एवं हल्का, सुपाच्य खानेकुरा खानुपर्ने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहात दिन्छ । साउनमा खीर लगायत दुधजन्य परिकार खाने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस