नारायणी नदी उर्लिएसँगै बाढी र पहिरोको डर

सूर्यप्रकाश कँडेल

शनिबार, २७ असार २०७७, ११ : ०४
नारायणी नदी उर्लिएसँगै बाढी र पहिरोको डर

चितवन । दुई दिनदेखिको अविरल वर्षासँगै त्रिशुली र कालीगण्डकी नदीमा पानीको सतह बढेसँगै नारायणी नदी पनि उर्लिएको छ । नारायणी नदी उर्लिएसँगै बाढी र पहिरोको डर जन्मिएको छ ।

देवघाटधाममा रहेको जलमापन केन्द्रका अनुसार नारायणी नदीमा पानीको सतह देवघाटधाममा सवा सात मिटर र नारायणी पुलमुनि नारायणगढमा पौने एघार मिटर मापन गरिएको छ । जलसतह मापनका यी दुबै बिन्दु खतराको तहभन्दा तल भएपनि सतर्कताको तहभन्दा माथि रहेको जलमापन केन्द्रले जनाएको छ ।

चितवनको भूभाग भएर बग्ने त्रिशुली, नारायणी, राप्ती र रिउ नदीमा पानीको सतह बढेसँगै बाढीको डर पनि उर्लिएको छ । त्रिशुली नदीले इच्छाकामना गाउँपालिका, नारायणीले भरतपुर महानगरपालिका, राप्ती नदीले राप्ती, खैरहनी र रत्ननगर नगरपालिका एवम् रिउ नदीले माडी नगरपालिकाको विभिन्न भागमा कटान र डुबानको खतरा देखा परेको छ । कालिका नगरपालिकामा कयर खोलाले डुबान गर्ने डरमा स्थानीयवासी रहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति चितवनको शुक्रबार सम्पन्न बैठकले चितवनका सात वटै स्थानीय तहका ७१ ठाउँमा बाढी र पहिरोको जोखिम अनुमान गरेको छ । यसबाट करिब २६ हजार घरपरिवार प्रभावित हुनसक्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट बताउँछन् । जोखिमको आँकलन गरी सुरक्षाकर्मी र रेडक्रसलाई आकस्मिक उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको प्रजिअ भट्टराईले बताए ।

यसैबीच, अविरल वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डको तीनकिलो भन्ने स्थानमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात पुनः सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस