खोलाले बगाँउदा चितवनमा एकजनाको मृत्यु

रासस

शनिबार, २७ असार २०७७, १० : २४
खोलाले बगाँउदा चितवनमा एकजनाको मृत्यु

फाइल तस्विर

चितवन । चितवनको माडीमा खोलाले बगाउदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । 

दुई दिनदेखि परेको अविरल वर्षाका कारण रिमाल खोला बढेको समयमा खोला तर्दा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ । खोलाले बगाएर ल्याएको अवस्थामा माडी नगरपालिका–७ हरिनगरमा उनको शव भेटिएको हो ।  यस्तै भरतपुर महानगरपालिका–२७ दिव्यनगरमा नारायणी नदीले पाँच मिटर ड्याम भत्काएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पानीको बहाब बढ्न थालेसँगै शुक्रबार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाएको ड्याम नदीले बगाएको हो । सात मिटर ड्याममध्ये दुई मिटरमात्र बाँकी रहेको प्रहरीले जनाएको छ । 

यता वर्षाका कारण भरतपुर महानगरपालिका–११ भोजाडमा रुखले घर थिचेको छ । जसका कारण घरमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । भोजाडमा रहेको एउटा घरमा क्षति भएको हो । त्यसैगरी यज्ञपुरीमा पनि रुख ढलेर घरमाथि परेको र पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस