‘भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो नै कम्युनिष्टको समाजवाद हो ?’ : कांग्रेस नेता पौडेल

पत्रपत्रिकाबाट

आइतबार, २१ असार २०७७, ०७ : ५२
‘भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो नै कम्युनिष्टको समाजवाद हो ?’ : कांग्रेस नेता पौडेल

file photo

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो नै कम्युनिष्टको समाजवाद हो भन्दै प्रश्‍न गरेका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले वाग्मती प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा नेता पौडेलले दुई तिहाई नजिकको बहुमत पाएको नेकपाले भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गरिरहेको बताएका हुन् ।

नेकपाको सरकार मुलुकको समस्या समाधानका लागि भन्दा पनि सत्ताका लागि भाँडभैलोमा लागेको नेता पौडेलको भनाइ छ । उनले नेकपाले पाएको दुई तिहाइ नजिकको बहुमत मुलुकको समस्या समाधान गर्नका लागि सहयोगी हुनुपर्नेमा त्यो नभएको बताए । कम्युनिष्टहरुले पाएको झन्डै दुईतिहाइ मत समस्या बन्ने हो कि भन्ने आम नागरिकमा शंका उत्पन्न भएको नेता पौडेलको भनाइ थियो । यस्तै, नेता पौडेलले कम्युनिष्टहरुले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर समाधान दिन कहिल्यै नसक्ने दाबी गरे ।

विश्वका पुँजीवादी देशहरु र कम्युनिष्ट देशहरु पनि उपभोक्तावादी भइसकेको भन्दै विश्वमा देखिएको समस्या नै पुँजीवाद र साम्यवादले नभइ प्रजातान्त्रिक समाजवादले समाधान गर्ने पौडेलको भनाइ थियो । पौडेलले पुँजीवादीहरु राज्यका सबै दायित्व व्यापारिलाई सुम्पेको र कम्युनिष्टहरुले जनतालाई दबाएर बन्द संस्कृति सृजना गरेकाले समस्या देखिएको बताए । यस्तै, नेता पौडेलले नेपाली कांग्रेसले जोड घटाउन गरेर सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आर्दशनको राजनीति अवलम्बन गर्नुपर्ने बताए ।

उनले अरुको घर भत्किन्छ र आफ्नो घर बन्छ भन्नु दुर्भाग्यपूर्ण हुने बताए । पौडेलले कम्युनिष्टहरु विभाजन भएर सत्ता प्राप्ती गर्ने कांग्रेसले मुलुकलाई समाधान दिन नसक्ने भन्दै मुलुकका सबै समस्या समाधान गर्ने मिसनका लागि भिजन भएको कांग्रेस आवश्यक रहेको बताए । उनले कांग्रेसको १४ औं महाधिवेशन त्यो मिसनका लागि भिजन भएको कांग्रेस बनाउने बताए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस