आहा ! भ्यू टावरबाट माडी हेर्दाको मज्जा, माडीको पर्यटन विकासमा कल्याणपुर मध्यवर्ती सामुदायिक वनको अभियान

प्रकाश सिग्देल

शुक्रबार, १९ असार २०७७, १८ : ३८
आहा ! भ्यू टावरबाट माडी हेर्दाको मज्जा, माडीको पर्यटन विकासमा कल्याणपुर मध्यवर्ती सामुदायिक वनको अभियान

- प्रकाश सिग्देल
चितवन । कल्याणपुर मध्यवर्ती सामुदायिक वनले पुष्प मदन बन बाटिका निर्माण स्थलमा निर्माण गरेको भ्यू टावरबाट माडी हेर्दाको मज्जा बेग्लै छ । एउटा टावरबाट हेर्दा पुरै माडी देखिने गरी निर्माण गरिएकोे यो टावरमा लकडाउन यता भने मानिसहरु पुग्न पाएका छैनन् । 

निकुञ्जको काखमा रहेको समथर माडी उपत्यका र त्यहाका स्थानीयको रहनसहन हेर्न यही टावर चडे काफी छ । कल्याणपुर मध्यवर्ती सामुदायीक वनभित्र भुगोलको हिसावले अलि अग्लो ठाउँमा निर्माण भएको यो टावर चडेर माडी हेर्नेहरुले साँच्चै माडी मणि नै रहेछ भनेर अनुभव गर्न पाउँछन् । विभिन्न चराचुरुङगिको आवाज अनि जंगलका रुखहरुका पातमा चुमवन गर्दै बहेर आएको चिसो हावाको आनन्दसँगै टावरको टुप्पामा बसेर मनै आनन्दित हुने गरी माडी हेर्न पाउदा जो कोही पनि लोभिन्छन् । 

कल्याणपुर मध्यवर्ती सामुदायीक वनले पर्यटन विकास गर्ने उद्देस्यसहित पुष्प मदन बन बाटिका निर्माण थालेपछि सामुदायकि वनको चर्चा चुलिंदै गएको छ । २०६५ सालमा समुदायमा हस्तान्तरण भएको यो सामुदायिक वनले आफ्नै स्रोत, स्थानीय सरकार र प्रदेश सरकारको बजेट बाट आफ्नो क्षेत्रमा पूर्वाधार निर्माणलाई जोड दिएको हो । 

कल्याणपुर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितबहादुर चपागाईले वन क्षेत्रको दिगो व्यवस्थापन गरी पर्यटन विकासका साथै स्थानीयहरुको जीवन यापनमा सहजता हुने गरी सामुदायिक वनले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताए । १४८२ हेक्टर क्षेत्रफल फैलिएको यो सामुदायिक वनका १७ सय घरधुरी उपभोक्ता रहेका छन् ।

चापागाईका अनुसार साविकको कल्याणपुर गाविसको २ देखि ९ वडा अर्थात हालको माडी नगरपालिका वडा नम्वर ६ र ७ मा यो वन क्षेत्र फैलिएको छ । वनले वडा नम्वर ६ को लक्ष्मी निवासमा बन क्षेत्रभित्र पुष्प मदन बन बाटिका निर्माण गरेको छ । स्वर्गीय मदन भण्डारीको अस्तु विर्षजन गरेको ठाउँ भएकाले प्रदेश सरकारबाट प्राप्त १ करोड बजेटबाट सालिकसहित, भ्यू टावर र अन्य पूर्वाधर सहितको पार्क निर्माण गरिएको चापागाईको भनाइ छ । 

यहाँ पुरै माडी देख्न मिल्ने गरी निकै आकर्षक भ्यू टावर निर्माण भएको छ । जुन टावरबाट माडी साँच्चै आकर्षक देखिन्छ । बन क्षेत्रमा विभिन्न जंगली जनावरको समेत अवलोकन गर्न पाइने छ । यहाँ पिक्निक स्पोर्ट निर्माणदेखि वृक्षारोपण, फलफुल खेती, नदी नियन्त्रणका लागि राष्ट्रपति चुरे, आरआरएन लगायत विभिन्न निकायसँग सहकार्य गरी ड्याम लगाएर नदी नियन्त्रणको काम भएको चापागाईको भनाइ छ । 

त्यस्तै स्थानीयको आम्दानीको स्रोत बढाउन होम स्टे पनि एक विकल्प हो भन्ने उद्देस्यसहित सामुदायिक वनले होम स्टे समेत सञ्चलन गरेको उनी बताउँछन् । बनको संरक्षणका लागि सबै उपभोक्ताहरु सक्रिय भएर काम गरेको चापागाईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस