नेकपा पार्टी एकतामा गम्भीर संकट : प्रवक्ता श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, १८ असार २०७७, १८ : ४९
नेकपा पार्टी एकतामा गम्भीर संकट : प्रवक्ता श्रेष्ठ

काठमाडौँ । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा पार्टी एकतामा गम्भीर संकट परेको बताएका छन् । बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटीको बैठकपछि उनले पार्टी एकतामा संकट आइपरेको बताए । 

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टी एकतामा गम्भीर संकट देखा परेको छ । संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास गर्ने गर्नुहुनेछ, त्यसका लागि एक दिनको समय राखेर बैठक स्थगित गरिएको हो ।’

श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठक नबस्ने र संसद् अधिवेशन अन्त्य नगर्ने सहमति ओलीसँग भएको थियो तर बसेर संसद् अधिवेशन अन्त्य गर्नुभयो भनेर दाहालले स्थायी कमिटी बैठकमा ब्रिफिङ गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याइनसकेको बारे आफूलाई स्पष्ट पारेको पनि दाहालले स्थायी कमिटीमा सुनाएका थिए ।

राजनीतिक दलसँग सम्बन्धी कानुन संशोधन गर्न अध्यादेश ल्याउन लागिएको भन्ने चर्चापछि अध्यक्ष दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार दिउँसो शीतल निवास गएका थिए । राष्ट्रपतिसँग करिब १ घन्टा भेटवार्तापछि दाहाल पुन : बालुवाटार फर्किएपछि स्थायी कमिटी बैठक बसेको थियो ।

नेकपा स्थायी कमिटी बैठक अब शनिबार बिहान ११ बजे बस्नेछ ।


 

प्रतिक्रिया दिनुहोस