प्रधानमन्त्री ओलीलाई पार्टीभित्र विगतमा भन्दा बढी दबाव

सफल खबर संवाददाता

विहीबार, १८ असार २०७७, १२ : ३५
प्रधानमन्त्री ओलीलाई पार्टीभित्र विगतमा भन्दा बढी दबाव

फाइल फाेटाे

काठमाडौँ । पछिल्लो आफ्नै अभिव्यक्तिले संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्र विगतमा भन्दा बढी दबाव परेको राजनीतिक विश्लेषकहरुको भनाइ छ । राजनीतिक विश्लेषक टीका ढकालले भने, “विगतमा सचिवालय बैठकमा मात्रै बहसमा रहेको विषय अब स्थायी कमिटी बैठकमै देखिएको छ। त्यसैले यो गम्भीर बनेको छ।ू

प्रधानमन्त्रीको राजीनामा मात्रै नभई पार्टी विभाजनको सम्भावनासमेत निम्तिएको देखिन्छ।” “प्रधानमन्त्रीको पदमात्रै नभई पार्टीभित्र शक्ति बाँडफाँटको कुरा उठेका छन् र यसपटक त्यति सजिलैसँग प्रधानमन्त्री उम्किन सक्नुहुन्छ जस्तो मलाई लाग्दैन,” विश्लेषक ढकालले थपे। विश्लेषक श्याम श्रेष्ठ पनि विगतभन्दा प्रधानमन्त्रीका लागि यसपटक परिस्थिति निकै असहज भएको बताउँछन्।

उनले भने, “विगतमा जस्तो प्रधानमन्त्रीका लागि उधारोमा सम्झौता गर्ने छुट नेताहरूले यसपटक दिने छैनन्। प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र बामदेव गौतम सबै उनका विपक्षमा छन् र विगतका आश्वासनहरूबाट दिक्क भएका छन्।”

श्रेष्ठले थपे, “प्रधानमन्त्रीको राजीनामा माग गरे पनि खासमा समस्या भएको शक्ति बाँडफाँटको विषयले हो। त्यसलाई मिलाएर जाने विकल्प प्रधानमन्त्रीका लागि कठिन छ तर असम्भव छैन।” उनका अनुसार विगतमा भागबण्डाको कुरामा मात्रै असन्तुष्टि जनाएका नेताहरू र स्थायी कमिटीका सदस्यहरू यसपटक भारतसँग जोडर प्रधानमन्त्रीले लगाएको आरोप र अरू कसैलाई नगन्ने प्रधानमन्त्रीको दम्भबाट आजित छन् ।

विश्लेषक ढकाल भन्छन्, “तर वहाँले स्वेच्छाले राजीनामा दिने बाहेक संसदीय बाटोबाट राजीनामा हुने सम्भावना म कम देख्छु।” “पार्टी फुट्छ भन्ने समस्या बनेको छ तर त्यहाँसम्म कुरा नपुग्ला। आखिर यस्तो बेला नेताहरूबीच व्यक्तिगत स्वार्थ र शक्ति बाँडफाँटको विषय हाबी हुने विगतमा देखिएको छ।” विश्लेषक श्रेष्ठ पनि सहमत छन् । उनी भन्छन्, “मलाई कुनै हालतमा प्रधानमन्त्रीले राजीनामा गर्लान् जस्तो लाग्दैन।"

"उनको विरुद्ध आवाज उठाएका नेताहरूमा पनि ‘इगो टसल’ देखिन्छ। तर उनीहरू उधारो सम्झौतामा आश्वस्त होलान् जस्तो पनि लाग्दैन” श्रेष्ठले थपे । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि कुन रूपमा अघि बढ्छ भन्ने अहिले नै भन्न नसकिने बताए। तर प्रचण्ड निकट मानिने श्रेष्ठले यसपटकको बैठकबाट एउटा निचोड निस्कने लागेको बताए।

त्यसको अर्थ प्रधानमन्त्रीले राजीनामा दिन्छन् भन्ने हो ? श्रेष्ठले भने “प्रधानमन्त्रीको पद यही हुन्छ भन्ने कुरा त स्थायी कमिटीका साथीहरूको छलफल गरिरहेका बेला भन्न सकिने अवस्था भएन । तर यो पटकको छलफलले ठोस निष्कर्ष निस्कन्छ। पार्टी र सरकारको भविष्यका लागि एउटा सकारात्मक बाटो निस्किन्छ भन्नेमा म विश्वस्त छु।”

बुधवार पाँचजना सदस्यले बोलेपछि स्थगित भएको ४५ सदस्यीय स्थायी कमिटीको बैठक बिहीवार बस्दै छ। अध्यक्ष दुई जना रहे पनि प्रधानमन्त्री ओलीले हाबी हुने गरेको भन्दै पार्टी एकीकरणकै बेलादेखि प्रचण्डले असन्तुष्टि पोख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस