१५ वर्ष देखि फरार वन्यजन्तु तस्करको दुई अर्बको बैंकिङ कारोबार

पत्रपत्रिकाबाट

विहीबार, १८ असार २०७७, ०८ : ०८
१५ वर्ष देखि फरार वन्यजन्तु तस्करको दुई अर्बको बैंकिङ कारोबार

काठमाडौं ।  वन्यजन्तु तस्करी मुद्दामा १५ वर्षदेखि फरार रहेका एक अभियुक्तले यो अवधिमा करिब दुई अर्बको बैंकिङ कारोबार गरेको देखिएको छ । गत १० असारमा बौद्धबाट पक्राउ परेका तिब्बती मूलका कुन्जोक लामा भनिने कुन्जोकछिरिङ तामाङको अस्वाभाविक सम्पत्ति देखिएको हो । 

कुन्जोक वन्यजन्तु तस्करी मुद्दामा नेपालमा पक्राउ परेका अहिलेसम्मकै ‘हाइप्रोफाइल’ अभियुक्त हुन् । उनी भारतबाट नेपाल हुँदै बाघका अंग तिब्बत तस्करी गर्ने गिरोहका नाइकेमध्येका एक रहेको सिआइबीका निर्देशक डिआइजी सहकुल थापाले बताए । 
प्रारम्भिक छानबिनमा उनको अर्बौँको सम्पत्ति भेटिएको छ । दुई अर्बको त बैंकिङ कारोबार मात्रै गरेको देखिन्छ । बौद्धको सिमलटारमा १८ आनामा पाँचतले भव्य घर बनाएका कुन्जोकको धेरैजसो बैंकिङ कारोबार तिब्बती समूहसँग देखिएको छ । उनले गुह्येश्वरी फाइनान्सबाट तीन वर्षअघि मात्र व्यापारका नाममा दुई करोड कर्जा लिएका थिए ।
कर्णाली गार्मेन्ट पसल पनि चलाएका छन् । आफन्तहरूको नाममा कुन्जोकले करोडौँ सम्पत्ति लुकाएको प्रहरी आशंका छ । उनको सम्पत्तिको विवरण प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरेको छ । वन्यजन्तु तस्करीबाट उनले अथाह सम्पत्ति जोडेको प्रहरीको आशंका छ । 
०६२ सालमा रसुवामा बरामद भएको वन्यजन्तुका अंग तस्करीमा कुन्जोकको संलग्नता देखिएपछि प्रहरीले खोजी थालेको थियो । त्यसवेला स्याफ्रुबेंसीमा ६ वटा बाघको छाला, ३६ वटा चितुवाका छाला, दुई सय ३८ वटा ओतका छाला र एक सय १३ केजी बाघको हड्डीसहित पाँचजना पक्राउ परेका थिए । नेपाली सेनाको चेकिङमा उनीहरू पक्राउ परेका थिए । 

उनीहरूकै बयानका आधारमा तस्करीमा कुन्जोकको संलग्नता खुलेको थियो । तर, विस्तृत विवरण नखुलेपछि पक्राउ परेकालाई मुद्दा चलाएर कुन्जोकको मुद्दा मुल्तबीमा राखिएको थियो । सिआइबीले १० असारमा पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाएकोमा १३ असारमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए ।  नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस