नेकपाको स्थायी समिति बैठकमा ओलीको आलोचना

सफल खबर संवाददाता

बुधबार, १७ असार २०७७, १७ : १७
नेकपाको स्थायी समिति बैठकमा ओलीको आलोचना

काठमाडौंँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको आजको बैठकमा आफ्नो धारणा राख्ने नेताहरुले प्रधानमन्त्री एवम् केकपा अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । आजको बैठकमा पाँच जना स्थायी समिति सदस्यले आफ्नो धारणा राखेका थिए । 

बैठकमा नेताहरु योगेश भट्टराई, मात्रिका यादव, लीलामणि पोखरेल, पेशल खतिवडा र नन्दकुमार प्रसाईंले आ–आफ्नो धारणा राखेका बताइएको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्ति र नेकपा एमाले पार्टी निर्वाचन आयोगका दर्ता भएको विषयमा केन्द्रीत भएको छलफलमा भाग लिएका पाँचै नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र अभिव्यक्तिको आलोचना गरेको बैठकपछि एक नेताले जानकारी दिए । बैठकमा पर्यटनमन्त्री समेत रहेका स्थायी समिति सदस्य योगेश भट्टराई प्रधानमन्त्रीप्रति नरम रुपमा प्रस्तुत भएपनि कार्यशैलीको खुलेर आलोचना गरे । 

भट्टराईबोहकका बाँकी ४ जना स्थायी समिति सदस्यले भने ओलीको राजीनामाको विकल्प नरहेको धारणा राखेका थिए । बैठकमा भट्टराईले पार्टीमा निषेधको भावना नभइ सहकार्यको भावना हुनुपर्नेमा जोड दिँदै नेतृत्व नसच्चिए पार्टी चल्न नसक्ने धारणा राखेको बुझिएको छ । ‘अहिले देखिएको आन्तरिक समस्या पार्टीभित्र सबैसँग छलफल गरेर निकास खोज्नुपर्छ । निषेध होइन सहकार्यको भावनाका अघि बढिनुपर्छ’, उनको भनाइ थियो । उनले सचिवालयको विकल्प स्थायी समिति नभएको तर नेतृत्व सच्चिन जरुरी रहेको दोहो¥याए । 

यस्तै लीलामणि पोख्रेल र मात्रिका यादवले ओलीको राजीनामा भन्दा अर्को विकल्प नै नभएको धारणा राखे । उनीहरुले पहिलो सर्त नै ओलीको राजीनामा भएकोमा जोड दिएका बुझिएको छ । यसैगरी, स्थायी समिति सदस्य पेशव खतिवडाले प्रधानमन्त्रीको अभिव्यक्ति गलत रहेको भन्दै पार्टी विधिमा चल्नुपर्नेमा जोड दिए । यसैगरी अर्का स्थायी समिति सदस्य नन्द कुमार प्रसाईँले अहिलेको समस्याको मुल कारक नै ओली भएको भन्दै उनी कि सच्चिनु पर्ने कि त राजीनामा दिनुपर्ने धारणा राखे । 

बुधबार नेकपाको स्थायी कमिटी बैठक झण्डै एक घण्टा चलेको थियो । काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएको तथा त्यसमा नेताहरु सहभागी हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आज ५ जना स्थायी समिति सदस्यले आफ्नो धारणा राखेको जानकारी दिए । 

श्रेष्ठले आज पनि हिजोकै एजेण्डा प्रधानमन्त्रीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका विषयमा केन्द्रीत रहेर छलफल चलेको श्रेष्ठले जानकारी दिए । यसअघि मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्यले ओलीको राजीनामा माग गरेका थिए । विशेषगरी गत आइतबार ओलीले आफू नेतृत्वको सरकार ढाल्न भारत लागिपरेको भन्दै त्यसमा पार्टीकै नेताहरुको भूमिका रहेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चर्किएको छ । 

स्थायी समितिको अर्को बैठक बिहीबार बिहान ११ बजेको लागि तय गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस