नेकपाकै शिर्ष नेताहरुले मागे प्रधानमन्त्री ओलीको राजिनामा, कुन नेताले के भने ?

पत्रपत्रिकाबाट

बुधबार, १७ असार २०७७, ०७ : ३७
नेकपाकै शिर्ष नेताहरुले मागे प्रधानमन्त्री ओलीको राजिनामा, कुन नेताले के भने ?

काठमाडौँ । साढे दुई वर्षदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेपछि पार्टीको मुख्य कमान्ड मानिने सचिवालयका पाँच प्रमुख नेताहरूले स्थायी कमिटी बैठकमै उनको राजीनामा मागेका छन् । नौ सदस्यीय सचिवालयमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित मंगलबार बोल्ने अन्य १२ स्थायी कमिटी सदस्यले पार्टी र सरकार दुवैबाट ओलीको राजीनामा मागेका हुन् ।

ओलीको दोस्रो पटकको सत्तारोहणपछि पार्टीभित्रबाट सबै मुख्य नेताहरूले संगठित रूपमै उनलाई एकैस्वरमा पदबाट हट्न भनेको यो पहिलो पटक हो । यसअघिसमेत उनीहरूले राजीनामा मागेका भए पनि यो स्तरको संगठित शैलीमा ओलीविरुद्ध प्रस्तुत भएका थिएनन् ।

भारतको योजनामा सत्ताच्युत गर्न खोजिएको र त्यसमा पार्टी नेताहरूको समेत संलग्नता रहेको भन्ने केही दिनअघिको ओलीको अभिव्यक्तिबाट झनै चिढिएका नेताहरूले ओली अब प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा बस्न अयोग्य रहेको बताएका छन् । मंगलबारको स्थायी कमिटी बैठकबाट पनि ओली सत्तामाथि आफ्नै पार्टीभित्रबाट संकटको बादल मडारिएको देखिएको छ ।

गत १० गतेदेखि जारी बैठकमा सरकारको कामको समीक्षा गर्ने एजेन्डा राखिएको भए पनि गत आइतबार ओलीले आफ्नो पदीय मर्यादा प्रतिकूल हुने गरी सरकार ढाल्न भारतीय चलखेल भएको र त्यसमा आफ्नै पार्टीका नेताहरूको संलग्नता रहेको भन्ने खालका अभिव्यक्ति दिए । त्यही अभिव्यक्तिपछि उनको राजीनामाको विषय संगठित रूपमा उठेको हो ।

यसअघि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भन्दै गत वैशाख १७ गतेको पार्टी सचिवालय बैठकमा अध्यक्ष दाहालसहित केही नेताहरूले उनको राजीनामा मागेको भए पनि यसरी कमिटीमा ओलीले सरकार र पार्टी दुवै छोड्नुपर्ने विषय सामूहिक रूपमा आउन सकेको थिएन । त्यसबेला पार्टीलाई मिलाएर लैजाने प्रतिबद्धतापछि ओली सच्चिने आशा नेताहरूले गरेका थिए । तर ओलीले योबीचमा आफूलाई सुधारेनन् ।

आफ्नै पार्टीको बलमा प्रधानमन्त्री बनेका ओलीले उनका कार्यशैलीमाथि प्रश्न उठ्नेबित्तिकै दलका नेतालाई समेत भारतीय चलखेलमा जोडिने पात्रका रूपमा चित्रण गर्न थालेपछि शीर्षनेताहरू उनको अहंकारले सीमा नाघेको निष्कर्षमा पुगेका थिए । त्यही आक्रोशको प्रतिबिम्ब मंगलबारको बैठकमा देखा परेको हो । विस्तृत खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस