कोरोनाबाट विदेशमा १३० नेपालीको मृत्यु

पत्रपत्रिकाबाट

मंगलबार, १६ असार २०७७, ०७ : १२
कोरोनाबाट विदेशमा १३० नेपालीको मृत्यु

काठमाडौं । कोरोनाका कारण विदेशी भूमिमा १ सय ३० नेपालीले ज्यान गुमाएका छन्। नेपालमा मृत्यु हुने २९ जनाको तुलनामा यो झन्डै पाँच गुणा बढी हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोनाका कारण ज्यान गुमाएको जनाएको छ। संघअन्तर्गतको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६७ जनाको मृत्यु भएको छ।

त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा १९, अमेरिकामा १७, साउदीमा ९, कतारमा ७, बहराइनमा ३, टर्की, आयरल्यान्ड, जापान, नेदरल्यान्ड र स्विडेनमा १÷१ जना छन्। यस्तै अन्य मुुलुकमा तीन जनाको ज्यान गएको छ।

यसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेकाको संख्या २३ छ। वैदेशिक रोजगार बोर्डले दुई साताअघि सार्वजनिक गरेको तथ्यांक हो यो। त्यसपछि बोर्डले नयाँ तथ्यांक निकालेको छैन। बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले कम्पनी र बासस्थानमा जनघनत्व बढी भएकाले नेपाली कामदार बढी प्रभावित रहेको बताए। कोरोनाबाट ज्यान गुमाउनेको तथ्यांक परराष्ट्र मन्त्रालयले अध्यावधिक नगरेकाले यो संख्या थपघट हुन सक्ने सूचना अधिकारी सुवेदीको भनाइ छ।

उनले कोरोना विश्वव्यापी महामारी भएका कारण सावधानी अपनाउँदा पनि लाग्ने गरेको बताए। ‘कोरोनाबाट सुरक्षित रहँदारहँदै पनि वैदेशिक रोजगारीमा रहेका नेपाली संक्रमित भएका छन्’, उनले भने, ‘कोरोना लागेपछि आइसोलेसनमा बसेर घर फर्केका पनि छन् र केहीले ज्यान गुमाएका छन्।’

 

प्रतिक्रिया दिनुहोस