स्थायी कमिटि बैठकमा ओली किन बस्न चाहेनन् ?

पत्रपत्रिकाबाट

आइतबार, १४ असार २०७७, ०७ : २४
स्थायी कमिटि बैठकमा ओली किन बस्न चाहेनन् ?

काठमाडौँ । नेकपाको स्थायी कमिटी बैठकमा गत बुधबार महासचिव विष्णु पौडेलले एजेन्डा प्रस्तुत गरेपछि सदस्यहरूबाट पालैपालो विरोध भयो । एजेन्डामा चित्त नबुझाउने नेताहरूले बैठक कक्षका फरक–फरक ठाउँबाट उठेर विरोध गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक स्थायी कमिटी सदस्यका अनुसार त्यस दिन असन्तुष्ट खेमाका नेताहरूको बसाइ योजनाबद्धजस्तो देखिन्थ्यो ।

‘एक जना यहाँ, एक जना त्यहाँ, एक जना ऊ पर बसेको छ, छुट्टाछुट्टै बसे पनि सबैको एउटै स्वर छ,’ ती नेताले भने ।बैठकमा पूरै अवधि बसेका प्रधानमन्त्री ओलीले झन्डै एक घण्टा भाषण गरेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि एक घण्टा नै बोलेका थिए ।

स्थायी कमिटी सदस्यहरूको व्याख्या र विभिन्न सञ्चारमाध्यममा आएका खबरलाई विश्लेषण गर्दा उद्घाटन बैठकमा ओली रक्षात्मक र दाहाल आक्रामक देखिएका थिए । ओली र दाहालको अभिव्यक्तिका आधारमै बैठक वार कि पारको अवस्थामा जान्छ भन्ने आकलन नेताहरूले गरेका थिए । त्यसपछि बिहीबार एक दिन खाली छाडेर नेताहरूले शुक्रबार र शनिबारका बैठकमा धारणा राखेका छन् । यी दुई दिनमा सीमा समस्या र समाधानको उपायलाई मुख्य एजेन्डा बनाइएकाले नेताहरूले अरू विषयमा त्यति धेरै बोलिसकेका छैनन् तर प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि भने व्यापक कुरा उठेको छ ।

‘हाम्रा कुरा प्रधानमन्त्रीले पनि सुन्नुपर्छ भनेर बालुवाटारमा बैठक राखिएको थियो तर बालुवाटारको बैठकमा समेत उहाँ उपस्थित नभएपछि प्रश्न त उठ्ने नै भयो,’ स्थायी कमिटी सदस्य मातृका यादवले कान्तिपुरसँग भने । शुक्रबार एकछिनमा आउँछु भनेका ओली बैठकमा उपस्थित नै नभएपछि नेताहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्तलगायतले प्रश्न गरेका थिए । ओली शनिबारको बैठकमा भने करिब १५ मिनेटजति बसेर गए ।

ओलीले बैठकलाई त्यति ध्यान नदिनुको पछाडि केही कारण छन् । नेताहरूका अनुसार एक पार्टी एक पदको मुख्य एजेन्डामा ओली र दाहाल पक्षीय नेताहरूबीच बारम्बार कुरा भए पनि मिलिसकेको छैन । गत बुधबार र बिहीबार दिनभरजसो भएका छलफलमा पनि ओली पक्षधर नेताहरूले गत मंसिर ४ मा सरकार ओलीले र दल दाहालले चलाउने गरी भएको सहमतिलाई कार्यान्वयन गरेर जाऔं भन्ने प्रस्ताव गरिरहेका छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस