‘मेरो गणना, मेरो सहभागिता’

रासस

शनिबार, १३ असार २०७७, १४ : २०
‘मेरो गणना, मेरो सहभागिता’

हेटौंडा । राष्ट्रिय जनगणना २०७८ को पूर्वतयारी अन्तर्गत मकवानपुरमा ‘नमुना  जनगणना’ शुरु भएको छ । गत चैतमा सम्पन्न हुनुपर्ने सो काम कोभिड–१९ का कारण जारी लकडाउनले गर्दा तीनमहिना ढिलो गरी अहिले शुरु गरिएको यहाँस्थित तथ्याङ्क विभागका तथ्याङ्क अधिकृत राजेश दासले जानकारी दिनुभयो ।

सो कार्यका लागि भौतिक दूरी कायम गरी कर्मचारी, गणक र सुपरीवेक्षक खटाइएको उहाँको भनाइ छ । राष्ट्रिय जनगणनाको एक वर्ष अघि नमुना जनगणना गर्ने प्रचलनअनुसार जनगणना गरिएको उहाँले बताउनुभयो । आगामी जेठ २५ गतेबाट ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित राष्ट्रिय जनगणना गणना गरी अगामी असार ८ गते सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार अघिल्ला जनगणनामा लगत–१ र लगत–२ गरी दुईखाले प्रश्नावली फरक ढङ्गले सोधिएको थियो । तर, अहिले तीदुवै मिलाएर एकीकृत प्रश्नावली निर्माण गरिएको छ । एकीकृत प्रश्नावलीका आधारमा पूर्ण जनगणना गर्नु पर्ने भएकाले नमुना गणना अनिवार्य गरिएको हो । “पूर्वनिर्धारित तालिकाअनुसार छनौट गरिएका क्षेत्रमा नमुना (पाइलट) जनगणनाका निम्ति जनशक्ति खटाइसकेका छौँ ।”उहाँले भन्नुभयो ।

उहाँका अनुसार सो गणनामा खटिएका जनशक्तिलाई स्यानिटाइजर, मास्कर र पञ्जा पर्याप्त मात्रा उपलब्ध गराइएको छ । उनीहरूलाई उत्तरदाताको घरभित्र नपस्न, खुला ठाउँमा रहेर प्रश्नावली भर्र्न, अन्य स्थानका कुनै पनि सामान नछुन, अनावश्यक गफ नगर्न निर्देशन दिइएको छ ।

यस जिल्लाको नमुना गणनामा संलग्न जनशक्ति मध्ये सुपरीवेक्षक एक, गणक चार जनालगायत कार्यालयका कर्मचारी खटिएका छन् ।  जिल्ला अन्र्तगत छनौटमा परेका चार वटा गणना क्षेत्रको घरपरिवार सूचीकरण फारामअनुसार कूल घरसङ्ख्या ६३८ र कूल घरपरिवार सङ्ख्या ८६७ को पूर्णजनगणना भइरहेको छ । शुक्रबारसम्म १२ दिनको अवधिमा ५४३ घरपरिवारको जनगणना भएको उहाँले जानकारी दिनुभयो ।

सो कार्यका लागि हेटौंडा उप–महानगरपालिकाको गणना क्षेत्रमा दुई वटा ट्याबलेट प्रयोग गरिएको छ भने इन्द्रसरोवर गाउँपालिका र थाहानगरपालिकामा छापा प्रश्नावलीमा लिखित रूपमा विवरण भरिने कार्य भइरहेको छ । सो गणना यही असार १५ गतेभित्र सकिने विभागीय निर्देशन भएतापनि अविरल वर्षा, पहाडी भेगमा गएको पहिरो र बाटो निर्माणलगायतका कार्यले बाटो अवरुद्घभएकोे कारण बढीमा तीन दिनसम्म ढिलो हुनसक्ने विभागका कर्मचारी राजकुमार विकले बताउनुभयो ।

सोधिने प्रश्नावलीलाई ‘ए’ र ‘बी’ गरी दुई खण्डमा समेटिएका छन् । परिचयात्मक खण्डमा प्रदेश, जिल्ला, गाउँपालिका÷नगरपालिका, वडा, गाउँ÷बस्ती÷टोल, परिवारमूलीको नाम÷थर र सम्पर्क टेलिफोन नम्बर उल्लेख गरिएको छ । परिवारका सदस्यको सङ्ख्या, अक्सर बसोवास गर्ने (६ महिनाभन्दा बढी बस्ने), अनुपस्थित (स्वदेश वाविदेशमा) रहेको सदस्यसमेत उल्लेख हुनेछ ।

पारिवारिक खण्डमा परिवारले प्रयोग गरेको घरको स्वामित्व, घरको जग, बाहिरी गारो, छानाका किसिम, घरको भुइँ, खानेपानीको मुख्य स्रोत सोधिने छ । त्यसैगरी परिवारमा खाना पकाउन प्रयोग हुने इन्धन, बत्तीको स्रोत, चर्पी, महिलाको नाममा रहेको घररजग्गा, कृषिबाहेक कुनमुख्य साना घरेलु व्यवसाय र त्यसको सञ्चालक उल्लेख गरिने छ ।

घरायसी सुविधा तथा साधन अन्तर्गत टेलिभिजन, इन्टरनेट, मोबाइल, ल्यान्डलाइन टेलिफोन, कम्प्युटर, ल्यापटप, साइकल, मोटरसाइकल, गाडी,  रेफ्रिजेरेटर, वासिङमेसिन, माइक्रोवेभ ओभन पर्दछन् । त्यसैगरी प्रत्येक परिवारले पालेको पशु र पंक्षी, घरेलु व्यवसायलगायतको लगत लिइने छ ।

त्यसैगरी बितेको १२ महिनामा कुनै परिवारको सदस्यको मृत्यु भएमा मृत्युको कारणसहित खुलाउने व्यवस्था प्रश्नावलीमा छ । मृतक १५ देखि ४९ वर्षको महिलाभए मृत्यु हुँदाको अवस्था समेत उल्लेख हुनुपर्नेछ ।

व्यक्तिगत विवरण अन्तर्गत परिवारमा अक्सर बसोवास गर्ने व्यक्तिको नाम र थर, परिवार मूलीको नाता, लिंग, जन्ममिति, जात–जाति, पहिलो भाषा (मातृभाषा), दोस्रो भाषा र पुर्खाको भाषा, धर्म, वैवाहिक स्थिति उल्लेख हुनेछ । त्यसैगरी शैक्षिक विवरण, पढाइको क्षेत्र, बसाइँसराई, प्रजनन, अपाङ्गतासम्बन्धी विवरण समेटिनेछ ।

नेपालमा १९६८ साल (सन् १९११) मा पहिलो राष्ट्रिय जनगणना भएको थियो ।  प्रत्येक दश–दशवर्षमा जनगणना हुँदै आएको छ । पछिल्लो पटक सम्पन्न राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कअनुसार देशको कूल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ । अब हुने १२ औं जनगणना हो । (रासस) 

प्रतिक्रिया दिनुहोस