मेहनत गरेर कृषिलाई ध्वस्त पार्ने काम भयो : मन्त्री भुसाल

शनिबार, १३ असार २०७७, १४ : १९
मेहनत गरेर कृषिलाई ध्वस्त पार्ने काम भयो : मन्त्री भुसाल

काठमाडौँ  । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई मेहनत गरेर कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताएका छन् । एसोसिएसन अफ् नेपाली एग्रिकल्चरल जर्नलिस्ट आनाजद्वारा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ४० वर्षयता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताएका हुन् ।

उनले कृषि विकासका लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर बिगार्ने काम गरिएको बताए । उनले भने,  ‘हाम्रा साना दुःखले बर्बाद पारेको होइन । हामीले बहुत मेहनतले बर्बाद पारेका छौं ।’

लामो समयसम्म बिगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्ने पनि मन्त्री भुसालले बताए । ४० वर्षदेखि बिग्रँदै आएको कृषि ३ वर्षभित्रमा सुधार्न चुनौती रहेको उनले बताए । देशमा औद्योगिक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाड्दा कृषि व्यवस्था र प्रणाली नै बिग्रेको मन्त्री भुसालले बताए । उनले किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडि परेको बताए । 

कोरोना महामारीले भने कृषि नै जीवन हो भनेर ब्युझाएको मन्त्री भुसालले बताए । कोरोनाले सिकाएको पाठलाई फेरि पनि बिर्सने काम भयो भने ठूलो गल्ती हुने पनि उनले बताए । केही दशक खेर गइसकेकाले अब नयाँ व्यवस्थाअनुसार कृषि उत्पादनलाई अगाडि बढाउन खोजिएको जानकारीसमेत उनले बताए । नयाँ व्यवस्थाअनुसार कृषि क्षेत्रमा लाग्ने कुनै पनि किसानको जीवन, स्वास्थ्य, शिक्षा, सुरक्षाका विषयमा सरकारले ग्यारेन्टी लिने गरी व्यवस्थापन गर्न लागिएको मन्त्री भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस