उपाधिको होडमा युभेन्टसको बलियो पकड

एजेन्सी

शनिबार, १३ असार २०७७, १० : १५
उपाधिको होडमा युभेन्टसको बलियो पकड

एजेन्सी । इटालियन सिरी ए फुटबलको उपाधि होडमा युभेन्टसले बलियो पकड बनाउदैं गएको छ ।  लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा युभेन्टसले लेचीलाई ४–० ले पराजित गर्दै दोस्रो स्थानको लाजिओसँगको अंक दूरी सात बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा गोल गर्न नसकेको युभेन्टसले चारै गोल दोस्रो हाफमा गरेको हो । ३१ औँ मिनेटमा फाबियो लुचिओनी सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लेची १० खेलाडीमा सीमित भएको थियो । युभेन्टसका लागि ५३ औँ मिनेटमा पाउलो डिबालाले पहिलो गोल गरे । ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गरी अग्रता दोब्बर पारे ।

गोन्जालो हेगुइनले ८३ औँ तथा माथेज डी लिग्टले ८५ औँ मिनेटमा गोल गरेपछि युभेन्टस ४–० ले विजयी भयो। 
जितपछि शीर्ष स्थानको युभेन्टसको २८ खेलबाट ६९ तथा दोस्रो स्थानको लाजिओको २७ खेलबाट ६२ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस