हवाई सेवामा लकडाउन कायमै : आन्तरिक उडान साउन दोस्रो सातासम्म नखुल्ने

अन्तर्राष्ट्रिय झनै अनिश्चित

पत्रपत्रिकाबाट

शुक्रबार, १२ असार २०७७, ०८ : ३७
हवाई सेवामा लकडाउन कायमै : आन्तरिक उडान साउन दोस्रो सातासम्म नखुल्ने

काठमाडौं । कोभिड–१९ को संक्रमण फैलिइरहेकाले सरकारले अझै एक महिना हवाई लकडाउनलाई निरन्तरता दिने भएको छ । विमान कम्पनीहरूले आन्तरिक उडान खुलाउन दबाब दिए पनि कोरोनाको संक्रमण बढिरहेकाले सरकारले अगस्ट १ (साउन १७) सम्म हवाई लकडाउन नखोल्ने मनस्थिति बनाएको हो । अन्तर्राष्ट्रिय उडान त झन् कहिले खुलाउने भन्नेमा अझै अनिश्चित छ ।  

गत चैत ११ देखि बन्द भएको उडान असार २१ सम्म बन्द घोषणा भइसकेको छ । ‘आन्तरिक उडान कहिले खुल्छ भन्न सकिने अवस्था छैन,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘परिस्थिति हेरेर सरकारले निर्णय गर्ला, तर अन्तर्राष्ट्रिय उडान खुलाउने त झन् अझै अनिश्चित नै छ ।’ 

यता बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत भने सरकारले सुरक्षा विधि अपनाएर आन्तरिक उडान खुलाउनुपर्नेमा जोड दिन्छन् । ‘हामी त अहिले पनि खोल्नुपर्छ भन्ने पक्षमा छौँ,’ उनले भने, ‘तैपनि अगस्टभन्दा पछि लम्बिए झन् ठूलो समस्या आउनेछ ।’  

के–के सुरक्षा विधि छन्, मापदण्डमा ? 
हवाई यात्राका लागि यात्रुले टर्मिनल भवनमा प्रवेश गर्नुअघि मास्क लगाउनु अनिवार्य छ भने छेउको हेल्थ डेस्कमा थर्मल गनमार्फत शरीरको तापक्रम र स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ । यात्रुलाई भौतिक दूरी पालनाका लागि एक–एक मिटरमा उभिने ठाउँ मार्किङसमेत गरिएको छ । बोर्डिङ काउन्टरमा बसेका कर्मचारीहरूका लागि फेस सिल्ड, मास्क इत्यादिको व्यवस्था गरिएको छ । यात्रु र कर्मचारीबीच सम्पर्क हुने डेस्कहरूमा पारदर्शी काँच लगाइएको छ । 

आकस्मिक अवस्थाबाहेक जहाजमा शौचालयमा रोक लगाएको छ । पानीसमेत दिइनेछैन । जहाजभित्र बसेपछि पनि उडानअघि यात्रुलाई सास फेर्न गाह्रो हुनुका साथै टाउको दुख्ने समस्यासमेत देखिए मेडिकल टिम बोलाएर उसलाई स्वास्थ्यकर्मीसम्म पुर्‍याउने व्यवस्था गरिएको छ । काठमाडौंबाट कुनै पनि गन्तव्यमा उडान गरेको जहाजलाई दैनिक करिब एक घन्टा लगाएर फोम र स्प्रे प्रयोग गरेर डिसइन्फेक्ट गर्ने व्यवस्था गरिएको छ । 

बुद्धले थाल्यो उडानको तयारी 
बुद्ध एयरले अब हुने उडानका लागि स्वास्थ्य निर्देशिकाअनुसार तयारी सुरु गरेको छ । बुद्धले बिहीबार ‘डेमो’ उडानसमेत गर्‍यो । यात्रुले टिकट कसरी लिने, कसरी एयरपोर्ट आइपुग्ने, चेक–इन काउन्टर, र्‍याम्प बसको बसाइ र जहाजमा पसेपछि अवलम्बन गर्नैपर्ने नियमहरूबारे जानकारी दिन र आफ्ना कर्मचारीलाई अभ्यस्त पार्न बुद्धले नमुना उडान अभ्यास गरेको हो । परीक्षणस्वरूप गरेको ड्रिलिङअन्तर्गत काठमाडौंबाट पोखरासम्मको उडानमा यात्रु र विमान कर्मचारीले के–के गर्नुपर्छ भनेर देखाएको थियो ।  नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस