१० वर्ष अघि बसमा विष्फोट गराउने आरोपी पक्राउ

पत्रपत्रिकाबाट

विहीबार, ११ असार २०७७, ०६ : ५६
१० वर्ष अघि बसमा विष्फोट गराउने आरोपी पक्राउ

रौतहट । एकदशक अघि सदरमुकाम गौरबाट चन्द्रनिगाहपुर आउँदै गरेको बसमा बम विस्फोट गराई १३ जनालाई घाइते बनाएको अभियोग लागेका दुई जनालाई रौतहट प्रहरीले बुधबार पक्राउ गरेको छ । दुवै तत्कालीन भूमिगत संगठनका जिल्ला नेता रहेको जनाइएको छ । 

इशनाथ नगरपालिकाको रामपुरखापका शेख गुलाम सरबर र दिलीपकुमार साहलाई बम बिरुफोटको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ । २०६७ चैत ११ गते जिल्लाको हजमिनियामा सदरमुकाम गौरबाट आउँदै गरेको ना २ ख ५७२१ गुडिरहेको बसमा बम विस्फोट हुँदा १३ यात्रु घाइते भएका थिए । विस्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो । त्यस बेला शेख गुलाम मोर्चाका जिल्ला नेता थिए । घटनामा उनीहरुको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।

घटनापछि फरार दुबैलाई प्रदेश २ प्रहरी कार्यालय जनकपुरको विशेष र रौतहट प्रहरीको संयुक्त टोलीले ईशनाथ नगरपालिकाबाट पक्राउ गरेको हो । प्रदेशका डिआईजी धिरजप्रताप सिंहले दुबै जनालाई पक्राउ गरिएको पुष्टि गरे । त्यहीबेला घटनामा ७ जना संलग्न रहेको खुलेको थियो । ५ जना अझै फरार छन् । ‘गुलाम र साहलाई प्रदेश टोलीले एक सातादेखि पिछा गर्दै आएको थियो,’ डिआईजी सिंहले भने,‘अपराध गर्नेहरु कानुनको फन्दाबाट उम्कन पाउँदैन ।’

प्रतिक्रिया दिनुहोस