भरतपुर महानगरको छैठौं नगरसभा सुरु, कोभिड– १९ को प्रभावलाई न्यूनिकरण गर्दै कृषि, रोजगारी सृजना र पूर्वाधार विकासलाई जोड

सफल खबर संवाददाता

बुधबार, १० असार २०७७, १३ : ११
भरतपुर महानगरको छैठौं नगरसभा सुरु, कोभिड– १९ को प्रभावलाई न्यूनिकरण गर्दै कृषि, रोजगारी सृजना र पूर्वाधार विकासलाई जोड

चितवन । भरतपुर महानगरपालिकाले आज सुरू गरेको छैठौं नगरसभामा महानगर प्रमुख रेनु दाहालले आर्थिक वर्ष ०७७/०७८ का लागि निती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । 

नीति तथा कार्यक्रम कोभिड– १९ को प्रभावलाई न्यूनिकरण गर्न केन्द्रित भएको छ । महानगरपालिकाको छैटौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट कोभिड केन्द्रित भएको हो ।  

नीति तथा कार्यक्रम सँगसँगै आउँदो वर्षका लागि विनियोजित बजेट कोभिड– १९ बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टिन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिहरुलाई रोजगार सिर्जना गर्न केन्द्रित छ । त्यसै गरी महानगरवासीहरुको मौलिक हकको रुपमा रहेका न्यूनतम आधारभूत आवश्यकताहरु परिपूर्ती गर्दै जाने, नीजि तथा सहकारी क्षेत्रसँग सहकार्य गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्ने, साधन स्रोत, अवसर र क्षमताको विकास तथा सोको उच्चतम उपयोग गरी समृद्ध महानगर बानाउन बजेट केन्द्रित भएको छ । 

सो अवसरमा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै महानगर प्रमुख रेनु दाहालले सिङ्गो विश्व यतिबेला कोरोना भाइरसले ल्याएको संकट सामना गरिरहेको भन्दै सिंगो मुलुक तथा महानगर पनि विपत्तिसँग जुधिरहेको बताउनुभयो । 

महानगरले कोरोना संक्रमणसँग जुध्न भरतपुर कोरोना विशेष अस्थाई अस्पताल र कोभिड– १९ प्रयोगशाला स्थापना गरेको भन्दै उहाँले सबै वडामा क्वारेन्टिनको स्थापना गरिएको जानकारी दिनुभयो । 

महानगरपालिकाले बितेका तीन वर्षमा साना ठूला गरी करिव ३०० किलोमिटर सडक कालोपत्रे, वडा कार्यालय, उद्यान, सडक मर्मत, मेशजाली लगाउने, सीप विकास र क्षमता विकास, कृषि तथा पशु विकासका काम गरिएको दाहालले सभालाई जानकारी दिनुभयो । 

महानगरपालिकाले आफ्नै सिटी हल बनाउने लक्ष्यअनुरुप काम भइरहेको, महानगरीय रिंगरोड, लिंकरोड, बाईपास रोडको स्तरोन्नति, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणका साथै शहरी पूर्वाधार निर्माणका कार्य अघि बढिरहेको दाहालले जानकारी गराउनुभयो ।  

महानगरकै पहलमा चौविसकोठी–चनौली–मेघौली सडक बैकल्पिक सहायक राजमार्गमा स्तरोन्नति भएको, भरतपुर विमानस्थलप्रादेशिक विमानस्थलको रुपमा रुपान्तरण भएको भन्दै उहाँले अन्य केही ठूला आयोजनाहरु तीव्र रुपमा अघि बढिरहेको बताउनुभयो । 

महानगरपालिकामा हालसम्म १४ वटा ऐन, ६ वटा नियमावली, ६ वटा निर्देशिका, ३३ वटा कार्यविधि, ४ वटा मापदण्ड तथा एक आचार–संहिता गरी ६४ वटा कानुनहरु निर्माण भई कार्यान्वयनमा आएको उहाँले जानकारी दिनुभयो । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषकलाई व्याजमा अनुदान, एक कस्टम हायरिंग केन्द्र स्थापना गरिने, बीउबिजन र मल वितरणमा अनुदान दिने,  पुरिएका र जीर्ण सिंचाई नहरहरूको पुननिर्माण गरिने, कृषि उपजहरुलाई सहज रूपमा बजारसम्म पुर्याउनका लागि कृषि क्षेत्रसम्म पुग्ने पूर्वाधारहरुको विस्तार गरिने, सबै हाटबजारहरुमास्वदेशी उत्पादनमात्र बिक्री गर्न “हाम्रो हाटबजार स्थानीय उत्पादन” कार्यक्रम संचालन गरिने उहाँले जानकारी दिनुभयो ।

यस्तै कृषि सूचना प्रणालीको विकास गर्ने, कृषियोग्य जमिन बाँझो राख्न नदिईने, खेतीयोग्य जमिन विपन्न तथा लक्षित वर्गका किसान, समूह विशेष वा सहकारीलाई कृषि प्रयोजनका लागि अल्पकालीन भाडामा प्रदान गर्न आवश्यक पूर्वाधार निर्माण, समन्वय र सहजीकरणगरिने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै भूमि बैंकको अवधारणालाई कार्यान्वयन गर्न प्रक्रिया अघि बढाइने दाहालको नीति तथाकार्यक्रममा जनाईएको छ ।

कृषि बीमा अन्तर्गत किसानको उत्पादनको बिक्री वितरणलाई पूर्ण सुरक्षण प्रदान गरिने, महानगरस्तरीय आधुनिक भण्डारण केन्द्र निर्माण गरिने, सीड बैंकको स्थापना गरेर किसानलाई समयमै गुणस्तरीय बीउ उपलब्ध गराइने, कृषि सहकारी संस्था, कृषक समूह तथा व्यावसायिक कृषकहरुले पाँच वर्षभन्दा बढी समयका लागि भाडामा लिएको वा आफ्नै स्वामित्वमा रहेको १५ बिगाहाभन्दा बढी क्षेत्रफलको जग्गामा व्यावसायिक खेती गरेमा त्यहाँबाट वर्षैभरी उत्पादन हुने उपजको सहज बजारीकरणका लागि बिक्री केन्द्र स्थापनागर्न  अनुदान प्रदान गरिने सो अबसरमा उहाँले जानकारी दिनुभयो । 

दाहालले कोभिड १९ संक्रमणले गर्दा विभिन्न देशबाट फर्किने महानगरबासी युवाहरुको विदेश रोजगारबाट आर्जन गरेको ज्ञान, सीप रउद्ममशीलताको उपयोग गर्न विदेशको सीप स्वदेशका लागि कार्यक्रम अन्तर्गत सीप अनुसार परियोजना बनाउन सहयोग गर्ने, बैंकबाटऋण लिन सहजीकरण तथा यन्त्र उपकरण खरिद गर्न सहयोग गर्ने नीति अवलम्बन गरिने जानकारी दिनुभयो । 

युवा तथा उद्यमीहरुलाई नवीन व्यवसाय शुरु गर्न आवश्यक क्षमता विकास, प्रविधि हस्तान्तरण, वित्तीय पहुँचमा सहजीकरण रबजारीकरणका कार्यक्रमसंग क्रमश आबद्ध गराई रोजगारी अभिवृद्धिका कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महिला तथा जेष्ठ नागरिकलाई भरतपुर केन्द्रीय अस्पतालबाट प्रदान गरिंदै आएको बहिरंग टिकट निःशुल्क नै कायम राखी यस आर्थिकवर्षबाट अपाङ्गता भएका व्यक्तिहरुलाई पनि निःशुल्क टिकटको व्यवस्था थप गरिने उहाँले बताउनुभयो । सरकारी स्वास्थ्य संस्थामासुत्केरी हुने महिलालाई निःशुल्क यातायात र एम्बुलेन्स खर्च उपलब्ध गराउने र गर्भवती महिलाहरुको ओसारपसारको लागि भरतपुरअस्पताललाई एउटा एम्बुलेन्स उपलब्ध गराइने दाहालले जानकारी दिनुभयो । 

हाम्रो गौरव, हाम्रो भरतपुर विषयको पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि शुरु गरिने भएको छ । महानगरले निजी क्षेत्रसँगको सहकार्यलाईप्राथमिकतामा राखेको भन्दै उहाँले साझेदारीमा नारायणी नदी किनारामा निर्माणाधीन सामुन्द्रिक तट मोडल सहितको मनोरञ्जन पार्कनिर्माण गर्ने कार्यलाई आगामी दुई वर्षभित्र सम्पन्न गरी सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । 

पत्रकार महासंघ तथा पत्रकार सम्बद्ध संघ–संस्थाको क्षमता विस्तार र सशक्तिकरणका लागि आवश्यक सहयोग गर्ने नीति लिइने, महानगरपालिकालाई सूचनामैत्री बनाई स्थानीय सञ्चार माध्यमहरुको विकास र प्रवर्द्धन गरिने, स्थानीय पत्र–पत्रिका, रेडियो, टेलिभिजनतथा अनलाइनहरुलाई थप व्यवस्थित, विश्वसनीय र प्रतिष्पर्धी बनाइने नीति तथा कार्यक्रममा जनाईएको छ । 

महानगरको बजेट ४ अर्ब १५ करोड 

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८का लागि रु ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार बिनियोजन गरेको छ ।महानगरको आज आयोजित छैटौं नगर सभामा सो वजेट प्रस्तुत गरिएको हो । जस मध्ये रु ४८ करोड चालु खर्च रहेको छ । 

वजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख पार्बती शाह ठकुरीले आम्दानी तर्फ अन्तर सरकारी अख्तियारीबाट रु ६० करोड, आन्तरिक आय रु९० करोड, अन्तर सरकारी बित्तीय हस्तान्तरणबाट रु १ अर्ब ६९ करोड २ लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्ववाँडफाँडबाट रु ४६ करोड १२ लाख ५१ हजार रहेको बिबरण प्रस्तुत गर्नुभयो । 

यस्तै आम्दानी तर्फ जनसहभागिताबाट रु २५ करोड, बैंक मौज्दात रु ८२ करोड, मर्मत सम्भार कोषबाट रु २ करोड र सडकबोड नेपालबाटरु १ करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस