काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का उम्मेदवारसहित १२ जनाको धरौटी जफत भएको छ। न्यूनतम आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरूको धरौटी जफत भएको निर्वाचन विवरणले देखाएको छ।
उक्त क्षेत्रमा एमालेका उम्मेदवार यज्ञराज ढुंगानाले पाँच हजार ८३९ मत प्राप्त गरेका थिए। तर जमानत सुरक्षित राख्न आवश्यक मतभन्दा कम मत प्राप्त भएकाले उनको धरौटी जफत भएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत हुने निर्वाचनमा उम्मेदवारले कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। सो मापदण्ड पूरा गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी प्रावधान छ।
कैलाली–५ मा कुल ६२ हजार १४७ मत सदर भएको थियो। उक्त मतसंख्याका आधारमा धरौटी जोगाउन कम्तीमा ६ हजार २१५ मत आवश्यक पर्ने थियो। आवश्यक मत प्राप्त नभएकाले एमाले उम्मेदवार ढुंगानासहित १२ जनाको धरौटी जफत भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ फागुन २०८२, २० : १७
लेखकबाट थप