बागमती प्रदेश : थुप्रिदै स्वाब, सुस्त पीसिआर परीक्षण

पत्रपत्रिकाबाट

शुक्रबार, ०५ असार २०७७, ०८ : ०६
बागमती प्रदेश : थुप्रिदै स्वाब, सुस्त पीसिआर परीक्षण

काठमाडौं । बागमती प्रदेश अन्र्तगत कोरोना संक्रमित सबैभन्दा बढी देखिएको धादिङ जिल्लामा अहिले थ्रोट स्वाब संकलन कार्य धमाधम भइरहेको छ । यसरी भारतबाट आई क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरि पठाएको लामो समय भइसक्दा पनि पीसिआर परीक्षणको रिपोर्ट आउन सकेको छैन ।

‘स्वाब संकलन गरि पीसिआर परीक्षणका लागि प्रयोगशाला पठायौँ तर रिपोर्ट ढिला आउँछ’, नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले भने, ‘पीसिआर रिपोर्ट समयमै नआउदाँ क्वारेन्टिनको बसाई लम्बिने गरेको छ ।’  

स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाभर सात सय ५० जनाको स्वाब संकलन गरी प्रयोगशालामा पठाइएकोमा ६ सय २५ जनाको पीसिआर रिपोर्ट आएको छ । जसमध्ये ८६ जनाको पोजेटिभ आएको छ भने एक सय २५ जनाको रिपोर्ट आउन बाँकी छ । पर्याप्त किटको अभावमा भारतबाट आएकाहरुको आरडिटी परीक्षण मात्र गरिएको छ ।

जिल्लामा दुई हजार पाँच सय ४६ जनाको आरडिटी परीक्षण गरिएको छ । स्बाब संकलन किटको अभाव हुदाँ र आरडिटीको मात्रै भर पर्दा कारोना संक्रमणको जोखिम देखिएको छ । परीक्षण गर्नुपर्नेको संख्या दिनहुँ बढ्दो क्रममा रहे पनि परीक्षण व्यवस्थापन निकै फितलो देखिएको छ ।

बागमती प्रदेशभित्र काठमाडौँ उपत्यकासहित सात ठाउँबाट परीक्षण गरिन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, वीर अस्पताल काठमाडौँ, त्रिभुवन विश्व विद्यालय टिचिङ अस्पताल महाराजगंज काठमडौँ, पाटन अस्पताल ललितपुर, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा, धुलिखेल अस्पताल, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा परीक्षण गरिन्छ । प्राविधिक जनशक्ति कम हुनु र पूर्वाधारको अभावले गर्दा पीसीआर परीक्षणको नतिजा आउन ढिलाई भएको स्वास्थ्यकर्मीको भनाई छ । नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस