असारभित्र नेपालमा कोरोना संक्रमित ४० हजार पुग्ने अनुमान

पत्रपत्रिकाबाट

विहीबार, ०४ असार २०७७, ०७ : १४
असारभित्र नेपालमा कोरोना संक्रमित ४० हजार पुग्ने अनुमान

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार मसान्तभित्र कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित संख्या ४० हजार पुग्नसक्ने आन्तरिक प्रक्षेपण गरेको छ। मन्त्रालयले ४० हजार संक्रमित पुग्नसक्ने भन्दै त्यसै अनुसार तयारी थाल्न मार्गदर्शन बनाएको छ।

मन्त्रालयले तयार पारेको कोभिड–१९  महामारी व्यवस्थापनका लागि भौतिक स्रोत पहिचान तथा जनशक्ति व्यवस्थापन मार्गदर्शनमा ४० हजार संक्रमितमध्ये ८० प्रतिशत अर्थात् ३२ हजारमा कुनै लक्षण तथा असर नदेखिने भएकाले उनीहरुलाई होम क्वारेन्टिन वा होम आइसोलेसनमा राख्नुपर्ने उल्लेख छ। त्यस्तै १५ प्रतिशत संक्रमित अर्थात् ६ हजारजनालाई अस्पताल केयर, आइसोलेसन बेड र ५ प्रतिशत अर्थात् २ हजारजनालाई सघन उपचार चाहिने प्रक्षेपण गरिएको हो।  

कोभिड–१९  महामारी व्यवस्थापनका लागि भौतिक स्रोत पहिचान तथा जनशक्ति व्यवस्थापन मार्गदर्शन तयार।

मार्गदर्शनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउनेमध्ये संक्रमणको लक्षण नभएकालाई होल्डिङ गर्ने तथा सम्बन्धित स्थानीय तहसम्म पु¥याउने काम सम्बन्धित प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले गर्ने भनिएको छ। त्रिभुवन विमानस्थलबाट आउनेमध्ये संक्रमणको लक्षण देखिएकालाई आइसोलेसनमा राखिने छ।

त्यस्तै स्थलगत सीमानाकाबाट भित्रिने तर संक्रमणको लक्षण नभएकालाई पनि होल्डिङ गर्ने तथा सम्बन्धित स्थानीय तहसम्म पु¥याउने कार्य सम्बन्धित प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले गर्ने र संक्रमणको लक्षण देखिएकालाई आइसोलेसनमा राखिनेछ।  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस