सीरियामा रोकिएन युद्ध, रासायनिक हतियारद्धारा आक्रमण जारी

सोमबार, १४ फागुन २०७४, ०९ : ४५
सीरियामा रोकिएन युद्ध, रासायनिक हतियारद्धारा आक्रमण जारी

युद्ध विराम गर्ने सहमतिलाई लत्याउँदै सीरिया सरकारले विद्रोहीको प्रभाव क्षेत्रमा हवाई हमला जारी राखेको छ । ताजा हमलामा क्लोरिन जस्ता रासायनिक हतियारको पनि प्रयोग गरिएको छ ।

राजधानी नजिकको गुटामा विद्रोही नियन्त्रित क्षेत्रमा सीरियाले बमबारी गर्दा पाँच सय भन्दा बढीको मृत्यु भइसकेको छ । बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बोवेनका अनुसार सीरियामा सात वर्षदेखि लडाईं जारी छ र यस क्रममा युद्धविराम शायदै भएको छ ।

आक्रमणमा सीरिया सरकारलाई रुस सरकारले सहयोग गर्दै आएको छ । रुसले भने विद्रोही संगठन जैश अल इस्लामले युद्ध विरामको उल्लंघन गरेको आरोप लगाएको छ ।

रुसको यस आरोपमा जैश अल इस्लामइस्लामका प्रवक्ताले भनेका छन् जब सीरिया सरकारले नै संयुक्त राष्ट्र संघको प्रस्ताव मानिरहेको छैन भने हामी पनि आफ्ना बच्चाहरुसँग हात बाँधेर बस्न सक्दैनौं ।

सीरियामा पछिल्लो हमला सुरक्षा परिषदमा ३० दिनको संघर्षविरामको प्रस्ताव पारित भएको केही घण्टापछि भएको छ । सीरियामा हवाई र स्थल सैन्य कारवाही जारी छ ।

गत आइतबार फ्रान्स र जर्मनीले रुसलाई, सीरिया सरकारलाई युद्धविरामको सम्मान गर्न दबाव दिन आग्रह गरेका थिए ।

सीरिया अर्थात् ‘पृथ्वीमा नर्क’
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेशले पूर्वी गुटाको हालतलाई ‘पृथ्वीमा नर्क’ जस्तै भएको टिप्पणी गरेका छन् । हवाई र स्थल आक्रमणबाट मृत्यु हुनेहरुको संख्या अधिक छ । आक्रमण भएको क्षेत्रमा लगभग चार लाख व्यक्ति फसेका छन् ।

समाचार एजेन्सी रोयर्टसका अनुसार इरानले युद्ध विरामलाई सम्मान गर्ने छ तर, सीरियाको राजधानी दमास्कस आसपासमा आफ्नो सैन्य कारवाही रोकिने छैन । किनकी उसको भनाइमा यो क्षेत्र युद्ध विरामको दायरामा आउँदैन ।

प्रतिक्रिया दिनुहोस